इन्द्रेणी संवाददाता
दाङ, ६ कात्तिक । घोराही १५ दीपशिखारोडका १२ वर्षीय आदर्श योगीले उत्सर्ग डान्सिङ स्टार ४ को उपाधी चुमेका छन् । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित नृत्य प्रतियोगिताको रुपमा स्थापित उत्सर्ग डान्सिङ स्टार ४ को मंगलबार घोराहीमा भएको फाइनलमा उनले उपाधी सहित ५० हजार नगद हात पारे । उनी गुरुकुल एकेडमीमा कक्षा ६ मा अध्ययनरत् छन् ।
उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको सो प्रतियोगिताको फाइनलमा उपाधीका लागि १२ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा भालुबाङकी एलिसा पुन मगरले फस्ट रनर अपको उपाधी जितेकी थिइन् । उनलाई ट्रफीसहित रु. २० हजार प्रदान गरिएको थियो । उनले वेस्ट ड्रस अप अवार्ड पनि जितिन् । प्रतियोगिताकी सबैभन्दा सानी प्रतिष्पर्धी तुलसीपुरकी प्रेक्षा रेग्मीले सेकेण्ड रनर अप सहित पब्लिक च्वाइस अवार्ड हात पारिन् । उनलाई ट्रफी सहित रु. १० हजार नगद प्रदान गरिएको थियो ।
उत्सर्ग फिल्मस् नेपालकी एम्बेस्डर एवं पूर्व स्टार समीक्षा पौडेलको अध्यक्षता र गायक, संगीतकार एवं लोकसंस्कृतिविद डा. गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको फाइनल कार्यक्रममा वरिष्ठ लोकगायिका कोमल वलीलाई १५ हजार नगद सहित उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार र संचारकर्मी केशरमान बुढाथोकीलाई ५ हजार नगदसहित उत्सर्ग रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।