घोराही, २२ भदौ । दाङमा नेपाल इन्जिनियर्स एशोसियशन दाङ शाखाको तदर्थ समिति गठन गरिएको छ । बिहिबार घोराहीमा भएको ईन्जिनियरहरुको भेलाले ईन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । एशोसियसनको उपाध्यक्षमा सन्तोष शर्मा, सचिबमा अपिल केसी, कोषाध्यक्षमा पोपुला श्रेष्ठ, सदस्यहरुमा रामधन श्रेष्ठ, डिल्लीराम डाँगी र बासुदेब भण्डारी रहनुभएको छ ।
ईन्जिनियर मन्दिप सुबेदीको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिकाका उपमेयर सिता न्यौपाने र एशोसिएशनका केन्द्रिय महासचिब उमेशप्रसाद थानीको बिशिष्ट आतिथ्यतामा भेलाको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै सांसद खनालले निर्माण व्यवसायीको लापर्वाहीले बिकास निर्माणमा ढिलाई हुने गरेको बताउनुभयो । साथै ईन्जिनियरहरुले पनि भौतिक बिकास निर्माणमा सहयोगि भुमिका निभाउनुका साथै दिगो संरचना निर्माणमा विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उपमेयर न्यौपानेले गुणस्तरीय काम कसरी गर्ने भन्नेमा ध्यान दिन ईन्जिनियरहरुलाई सुझाब दिनुभयो ।
दोष नआउने गरि सिकेको सिपलाई जिम्मेवारी र अबसरकारुपमा प्रयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो । कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष गोपाल घिमिरेले सिपलाई गुणस्तरीय काममा सदुपयोग गर्न ईन्जिनियरहरुलाई सुझाब दिनुभयो । ईन्जिनियर मदन वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण डिल्लीराम डाँगीले गर्नुभएको थियो ।