Indrenionline.com

समन्वय समितिका पदाधिकारीलाई उपमहानगरको स्वागत

घोराही, ३ भदौ। घोराही उप महानगरपालिकाले जिल्ला समन्वय समितिमा निर्वाचित समितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । शनिबार नगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई स्वागत एवं बधाई ज्ञापन गरेको हो ।

नगरका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरि समितिका प्रमुख जितेन्द्रमान नेपाली सहितका नवनिर्बाचित सदस्यहरुलाई टिका र माला लगाईदिएर स्वागत एवं बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा बोल्दै समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबै मिलेर दाङलाई संबृद्ध बनाउनुपर्ने अभिभारा आएको बताए ।

एक्लैले केही गर्न नसकिने भन्दै उनले मिलेर काम गरे सफल हुनेमा बिश्वास व्यक्त गरे । समितिले पाएको अधिकारलाई प्रयोग गरि संबिधानले दिएको सिमा भन्दा बाहिर नगएर काम गर्ने समेत प्रतिबद्धता जनाए । समन्वयकारी भुमिका निभाउने गरि समिति सदैब स्थानिय सरकार सँगै रहने भएकाले मिलेर काम गरि नगरलाई संबृद्ध र सुन्दर बनाउने बताए ।

नगर प्रमुख नरुलाल चौधरीले जनताले दिएको मतको कदर गर्दै जनताको बिकासमा लाग्ने बताए । स्थानिय तह र समन्वय समिति बिचमा पारस्परिक सम्बन्ध कायम गरि यहाँको चौतर्फि बिकासमा होमिने भन्दै जनताको बिश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजिकरण नगरका प्रबक्ता भरत अर्यालले गरेका थिए ।