नारायण भुसाल : अध्यक्षका दावेदार, व्यावसायिक सुख–दुखका साझेदार
एक कार्यकाल संघको गल्ला किराना उपसमितिको संयोजक भइसकेका भुसाल २०६८–२०७१ को कार्यसमितिमा सबैभन्दा धेरै मत लिई सदस्य पदमा निर्वाचित भएका थिए भने अहिलेको कार्यसमितिमा पनि सबैभन्दा बढी मत लिई वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका थिए उनी ।
२०४९ सालमा हालको घोराही उपमहानगरपालिका वडा नं. १४ गौतमनगर टोलमा किराना पसलबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेका हुन् भुसालले । किराना पसल दिदीको जिम्मा दिएर अमुल इन्टरप्राइजेजमा मजदूरका रुपमा काम गर्न थालेका उनले त्यहीँबाट व्यावसायिक ज्ञान तथा हौसला प्राप्त गरेको बताउँछन् । केही समय अमुलमै काम गरेका उनले पछि आफ्नै लगानीमा गौतमनगर टोलमा भुसाल सप्लायर्स सञ्चालन गरिरहेका छन् ।
व्यवसायका अतिरिक्त भुसाल सर्वाेदय पुस्तकाय तथा वाचनालय, गल्ला तथा किराना, डाँफे बचत तथा राप्ती अञ्चल लिकर्स एसोसियन, वितरण संघलगायतका विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका छन् । उनले विभिन्न सामाजिक अभियानहरुमा पनि हातेमालो गर्दै आइरहेका छन् । उपक्षेत्रीय अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि टोलबासीको नाताले सक्रिय रहँदै आएका छन् भने शंखपीपलस्थित शव दाहगृह स्थापना र व्यवस्थापनमा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ ।
आफ्ना मामाबाट व्यावसायिक क्षेत्रमा काम गर्ने प्रेरणा पाएका उनी काम गर्ने क्रममा नयाँ ज्ञान र अनुभव हासिल गर्ने मौका अमुल इन्टरप्राइजेजका विष्णुप्रसाद श्रेष्ठबाट पाएको बताउँछन् । एसएलसी उतीर्ण गरेपछि पूर्णकालीन रुपमा व्यवसायका लागेका उनी यही क्षेत्रबाटै विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर समाजसेवामा अनवरत लागिरहेका छन् ।
नारदमणि पोख्रेल : उद्योग उपाध्यक्षका उम्मेदवार, सफल योजनाकार
२०४५ सालबाट ईलेक्ट्रोनिक्स पसल स्थापना गरेर व्यवसायमा हात हालेका उनी हाल हिमशिखर होटल एण्ड लज सञ्चालन गरिरहेका छन् । समयक्रममा व्यवसायिक क्षेत्र छोडेर राजनीतिक यात्रामा होमिएका पोख्रेल शान्ति प्रक्रियासँगै पुनः राजनीति र व्यवसायलाई सँगसँगै अघि बढाउँदै आएका छन् । पोख्रेलले राजनीतिक यात्राकै दौरान घोराही नगर विकास समितिको अध्यक्षको जिम्मेवारीसमेत पूरा गरे । नगरविकास समितिको अध्यक्ष हुँदा घोराही बजारलाई व्यवस्थित गर्न थुप्रै लोकप्रिय काम गरेका उनले देशकै ठूलो ल्याण्डपुलिङ प्रोजेक्ट नवलपुर जग्गा एकीकरण अभियान चलाएर त्यस क्षेत्रको विकासका लागि महत्वपूर्ण कार्यको थालनी गरेका छन् ।
व्यवसायका अतिरिक्त तत्कालीन घोराही– ५ नवलपुरबाट २०५४ सालमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएका उनी पछिल्लो समय राप्ती उपक्षेत्रीय अस्पतालको स्तरोन्नति, स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना अभियानको लागि जमिनको खोजीजस्ता कार्यमा सक्रिय भएर लागेका व्यक्ति हुन् उनी ।
त्यस्तै, सामुदायिक वनको अध्यक्ष, खानेपानी समिति, पद्मोदय उमाविको व्यवस्थापन समिति लगायत थुप्रै सामाजिक संघ संस्थामा संलग्न रहुनका साथै नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका उनी उद्योगी व्यवसायीको हक हित र उनीहरुको व्यवसायको प्रवद्र्धनका लागि राम्रो योजना बनाउन सक्ने खुबी भएका व्यक्ति हुन् ।
एकराज खनाल : वाणिज्य उपाध्यक्षका प्रत्यासी, फेन्सी व्यवसायीका सारथि
व्यावसायिक यात्राको शुरुवातदेखि नै फेन्सी व्यवसायीहरुको हक हित र अधिकारका लागि आवाज उठाउँदै आएका उनी व्यवसायीहरुका माझ मिलनसार, प्रतिबद्ध र हक्की नेतृत्वकर्ताको रुपमा स्थापित छन् । रेडिमेट तथा फेन्सी व्यवसायी समितिमा एक दशक बढी नै नेतृत्व गरेका खनाल अन्य थुप्रै संघ संस्थामा पनि सक्रिय भएर काम गरिसकेका छन् ।
हाल गौरीशंकर सहकारी संस्थाको सल्लाहकार, रामजानकी टोल विकास संस्थाको सचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गर्दै आएका उनी व्यवसायीका समस्याहरु नजिकबाट पहिचान गरेको बताउँछन् । आफूले सधैं व्यवसायीहरुको हक हितका पक्षमा लागिरहेकाले सबैले आफूलाई भोट दिएर जिताउनेमा खनाल विश्वस्त रहेको बताउँछन् ।
अनिल आचार्य : महासचिवका उम्मेदवार, आशलाग्दो अनुहार
आचार्य व्यवसायमा मात्र होइन, विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । उनी रेडक्रस सोसाइटी दाङको आजीवन सदस्य हुन् । उनी सुलभ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत हुन् । स्नातक तहसम्म औपचारिक शिक्षा हासिल गरेका आचार्य उद्योग वाणिज्य संघमा व्यावसायिक सोँच भएका व्यक्ति नपुग्दासम्म यसको संस्थागत हित हुन नसक्ने बताउँछन् । व्यवसायीहरुको भौतिक तथा व्यावसायिक सुरक्षाका लागि उद्योग वाणिज्य संघले उचित पहल थाल्नुपर्ने उनी बताउँछन् ।
दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन निजी क्षेत्रको तर्फबाट पहल गर्नुपर्ने आचार्यको भनाई छ । पछिल्लो समय दाङमा ठूला लगानीका उद्योगहरु खुलेपछि त्यसको उचित व्यवस्थापन हुन नसकेको उनी बताउँछन् । त्यसका लागि तत्काल औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्ने आचार्यको भनाई छ । उनी सधैं नेतृत्वलाई सफल बनाउन आफ्नो कामलाई कुशलतापूर्वक सम्पन्न गर्छन् । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरिसकेका आचार्य उवासंघमा बलियो उम्मेदवारको रुपमा चिनिन्छन् ।
हरि खरेल : सचिवका दावेदार, सफल र मिलनसार
२०५५ सालदेखि व्यवसायमा संलग्न खरेलले अहिले घोराही नयाँ बजारमा खरेल फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । खरेल धनी बन्ने सपना बोकेर २०५१ सालमा विदेश गए । त्यहाँ रहेर काम गर्दा नेपालीहरुले निकै कष्टा व्यहोरेको देखेर उनी नेपालमै आएर व्यवसाय गर्न थाले । उनी छोटो समयमा सफल व्यवसायी बन्न पुगे । निम्न आर्थिक पारिवारिक अवस्थामा जन्मिएका खरेल जब व्यवसायमा आए, तब उनी सफल हुन थाले ।
व्यवसायमा मुनाफा मात्र नभएर समाजसेवा पनि हुने खरेलको भनाई छ । कुनै पनि संस्थामा महासचिवलाई सफल बनाउनको लागि सचिवको अहम् भूमिका हुन्छ । संयुक्त व्यावसायिक प्यानलले खरेललाई त्यस्तै सहयोगी भूमिकामा उद्योग वाणिज्य संघमा पठाउँदै छ । सचिव भएर उद्योग वाणिज्य संघको संस्थागत विकासमा लाग्ने उनले बताए । खरेलको सबैसँग मिल्ने र अरुको कुरा धैर्यसँग सुन्ने बानी छ ।
श्रीधर पोख्रेल : कोषाध्यक्षका दावेदार, व्यावसायिक इमान्दार
२०५९ सालदेखि घोराहीमा श्रृंगार पसल स्थापना गरी व्यावसायिक यात्रा थालेका पोख्रेलले त्यसको दुई वर्षपछि घोराहीको शिव बस्ती टोलमा फेन्सी व्यवसाय गर्न थालेका हुन् । कानुनमा स्नातक उतीर्ण पोख्रेलले आफ्नो दाजुबाट प्रभावित भएर व्यावसायिक क्षेत्रमा लागेको बताउँछन् । व्यवसायका अतिरिक्त सामाजिक कार्यमा सधैं अघि सर्ने उनी पोख्रेल सेवा समाज, सामुदायिक वन समिति लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर काम गरिसकेका छन् ।
अहिले घरबहाल कर, दोहोरो कर प्रणाली र झन्झटिलो सरकारी कागजी प्रक्रियाका कारण व्यवसायीहरुले दुःख पाउनु परेको पोख्रेलको बुझाई छ । सरकारले एकद्वार प्रणालीबाट उद्योगहरुको दर्ता, नियमन र राजश्व संकलनको काम गर्नुपर्ने उनी बताउँछन् । उद्योग वाणिज्य संघमा कोषाध्यक्ष भइसकेपछि जिल्लाका सबै व्यवसायीहरुलाई कर प्रणालीसम्बन्धी सचेतनामुलक तालिम दिने उनको योजना छ । भ्याटलगायतका कर प्रणालीसम्बन्धी उचित जानकारी नहुँदा व्यवसायीहरुले दुःख पाउनुपरेको उनको भनाई छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका पोख्रेल हाल घोराहीमा शान्त फेन्सी स्टोर सञ्चालन गरिरहेका छन् । कार्यसमितिमा इमान्दार, निष्ठावान् र व्यवसायीहरुका समस्याहरुमा घोत्लिएर गम्भीरतापूर्वक कार्यसम्पादन गर्ने क्षमता भएका उनी कोषाध्यक्षजस्तो निकै संवेदनशील र आर्थिक पक्ष जोडिएको जिम्मेवारी वहन गर्न निर्वाचनमा होमिएका छन् ।