दाङ, २८ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी धु्रवकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । श्रेष्ठले शनिबार एक विज्ञप्ती जारी गर्दै संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुसालसहितको टीमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
संघका संस्थापक, पूर्व र वर्तमान अध्यक्षसमेतले आफूलाई सर्वसम्मतिमा आफूलाई अध्यक्ष बनाउन निर्णय गरेको र उक्त निर्णय कार्यन्वयनको क्रममा एमाले र माओवादी केन्द्रले स्वीकार गरे पनि कांग्रेसले आफूलाई अस्वीकार गरेर सहमतिको बाधक बनेपछि चुनावी प्रक्रियाबाट बाहिरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफूले उम्मेदवारी फिर्तासँगै नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने जनाउँदै श्रेष्ठले विज्ञप्तीमा भुसालको प्यानललाई भोट दिई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
‘मैले निर्वाचनमा संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने सम्पूर्ण मेरा शुभचिन्तक उद्योगी, व्यापारीज्यूहरुलाई जानकारी गराउँदै संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिनुभएका कर्मठ, इमान्दार, सक्षम उद्योग वाणिज्य संघ र सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितमा जहिले पनि सकारात्मक भूमिका खेल्न सक्ने अध्यक्ष पदका उम्मेदवार नारायण भुसालसहित उहाँको पूरै प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सबै उद्योगी व्यवसायीज्यूहरुमा सादर अनुरोध गर्दछु ।’