Indrenionline.com

लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी र वली पुरस्कृत

इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । लोककुमारी स्मृति पुरस्कारबाट पत्रकार सन्तोष अधिकारी र तुल्सीराम वली पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर दाङ शाखाले आज संयुक्त रुपमा आयोजना गरेको लोककुमारी रिजालको प्रथम स्मृति दिवसमा पत्रकारद्धय अधिकारी र वलीलाई पुरस्कृत गरिएको हो ।

पत्रकार नेपाल पत्रकनर महासंघ दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट अधिकारी र प्रेस सेन्टर नेपाल दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता प्रतिभा पुरस्कार बाट वलीलाई पुरस्कृत गरिएको हो । उनी दुबै जनालाई नगद पाँच÷पाँच हजार राशीसहित नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पुरस्कृत गरेका थिए ।

दुवै पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघका शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र राधा रिजालले आफ्नी आमा÷हजुरआमाको स्मृतिमा महासंघ र प्रेस सेन्टर दाङ शाखामा अलग–अलग अक्षयकोष स्थापना गरी ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’को रुपमा स्थापना गरेका थिए ।

महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, पूर्वअध्यक्ष केएल पीडित, महासंघका केन्द्रीय सदस्य एवं पुरस्कार संस्थापक अजयदीप शर्मा पुरस्कार संस्थापक हरि रिजाल, महासंघका उपाध्यक्ष डिल्ली मल्ललगायतले आफ्ना विचार राखेका थिए ।