नारायण भण्डारी
तुलसीपुर(दाङ), २० साउन । दाङको तुलसीपुरमा सञ्चालित क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान अन्र्तगत आज विभिन्न सार्वजनिक संस्थानमा सरसफाईको अवस्थाबारे अनुगमन गरिएको छ । सरसफाई अभियानका संयोजक विमल रिजालको नेतृत्वमा रहेको टोलीले शसस्त्र प्रहरी बेश क्याम्प दोघरे, राप्ती अञ्चल अस्पताल तुलसीपुर, राप्ती बबई बहुमुखी क्याम्पस र गोरखा माध्यमिक विद्यालयको अनुगमन तथा निरिक्षण गरेको हो ।
अस्पतालको भित्ताभरी स्वाथ्य सम्बन्धी सन्देश दिने पोस्टर टाँसीएको भएपनि सौचालय गएपछि हात धुनकालागि सावुनको समेत ब्यवस्था नभएको पाइएको छ । सो क्रममा आकस्मीक कक्ष र भर्ना वार्डमा रहेका विरामीले सौचालय गएपछि हातधुने सावुन नभेटाएको गुनासो गरेका थिए । केही विरामी र उनका कुरुवाले हात धुनकालागि बाहिरबाट सावुन किनेर राखेको बताएका थिए भने केहीले पानीले मात्रै हात धोएको बताएका थिए ।
त्यस्तै राप्ती बबई बहुमुखी क्याम्पसका सौचालयहरु पनि दुर्गन्धीत रहेको, पानीको व्यवस्था नभएको, क्याम्पसको वरपर यत्रतत्र फोहोर फालिएको, पर्खालहरुमा अनावश्यक नारा लेखिएको र समग्रमा शैक्षिक संस्थामा हुनुपर्ने जस्तो सरसफाई नभएको अनुगमनमा सहभागी तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसीले बताए ।