रबिन्द्र यादव
परासी, १९ श्रावण । नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ । त्रिवेणी धाममा नेपालको महत्वपुर्ण धार्मिक स्थल मध्ये एक हो । यस धाममा स्नान गरेपछि सबै पाप धुल्ने यसको मुल्यमान्यता रही आएको छ । यस धामको दर्शन तथा अवलोकन गर्न नेपाल भारतको विभिन्न ठाउँबाट पर्यकट तथा भक्तजनहरु आउने गरेका छन् । वर्षमा दुई पटक यस धाममा मेला पनि लाग्ने गर्दछ । त्रिवेणी धाम तिन वटा नदी मिलेर बनेको छ ।
यस धामको महत्व र सुन्दरताले नेपाल भारतका विभिन्न ठाउँबाट गरि दिनमा करिब १ हजार पर्यटकहरु यस धाममा आउने गरेका छन् तर यो ठाउँको महत्वका अनुसार यो अझै कम रहेको स्वामी कृष्ण प्रपन्न आचार्यले बताए ।
स्वामी आचार्यका अनुसार यो धाम नेपालकै महत्पुर्ण धाम हो जसको दर्शन र भ्रमण गर्न दिनहुँ हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउनु पर्ने हो तर यहाँ बाटोघाटो, धर्मशाला, भोजनालय, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले यो ऐतिहासिक धार्मिक स्थल ओझेलमा परेको छ । यहाँ शुद्ध खानेपानी, विजुली, सुरक्षाको प्रवन्धपनि खासै छैन । यसको महत्वको विषयमा व्यापक प्रचार प्रसार पनि नभएकाले यो झनै ओझेलमा परेको स्वामी अचार्यले दुख व्यक्त गरे ।