इन्द्रेणी संवाददाता
दाङ, ८ असार । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रीय नेता बर्षमान पुन ‘अनन्त’ले दाङको सन्दर्भमा अहिलेको चुनाव प्रदेश राजधानीको बहस नै मुख्य एजेण्डा भएको बताएका छन् ।
‘तपाइले राजधानी प्रदेश राजधानी बनाउनुपर्छ भन्ने दललाई जिताउनुहुन्छ वा प्रदेश राजधानी अन्यत्रै लैजाने मनशाय बोकेकका दललाई जिताउनुहुन्छ, यो दाङवासीका लागि जनमत संग्रहजस्तै बनेको छ’– उनले भने । केही दलले स्पष्टरुपमा प्रदेश राजधानी बुटवल लैजान खोजेको, केही दलले जहाँ गयो त्यही प्रदेश राजधानी बनाउनुपर्छ भन्ने गरेको उल्लेख गर्दै उनले माओवादीले भित्रैदेखि प्रदेश राजधानी दाङ बनाउनुपर्छ भन्ने चाहिरहेको बताए । त्यही भएर पार्टी प्रदेश कार्यालय दाङमा स्थापना गर्नेदेखि माओवादी नेतृत्वकै सरकारले प्रदेश राजधानी स्थापनालाई सहयोग पु¥याउन उच्च अदालत दाङमै स्थापना गरेको पनि उनले बताए ।
दाङको घोराही उपमहानगरपालिका १४ र १५ ले संयुक्तरुपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्वोधन गर्दै उनले कतिपय पुराना भनिने दलले उठाउँदै आएको बोल्न पाउने तर खान नपाउने लोकतन्त्रको युग अब समाप्त भएको ठोकुवा गरे ।
जनताले राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गरेको समावेशी र सहभागितामूलक लोकतन्त्र नै आजको लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो नयाँ ब्यवस्थाको सर्जक माओवादी भएको बताए ।
पूर्वमन्त्री पुनले बिहीवार घोराहीको ट्राफिक चोकदेखि निमाहल–दूरसञ्चार–पुरानो बैंक रोड–दामोदर चोकसम्मको घरदैलोमा भाग लिएको थियो । त्यस्तै उनले आजनै घोराही १८ तल्लो फुर्सेखाली, लमही र राजपुरको कटबेरुवामा आयोजित चुनावी सभालाई पनि सम्वोधन गरेका थिए ।