दाङ, ३१ जेठ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोष्ण केसीले आगामी साउनदेखि सबै सञ्चालन माध्यमहरुमा श्रमजीवी पत्रकार ऐन अनिर्वाय लागु गरिने बताएका छन् । आज बुधवार दाङको घोराहीमा सम्पन्न श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक ५ नम्बर प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले साउनदेखि श्रमजीवी पत्रकार ऐन लागु नभएका सञ्चारमाध्यमकहरु वर्गीकरणमा समस्या पर्ने बताए ।
समितिले सरकारलाई यही असार मसान्तसम्म न्यूनतम पारिश्रमिक ऐन कार्यान्वयन गराउन दवाव दिने केसीले बताए । उनले पत्रकारहरुलाई आफ्नो दक्षता हाँसिल गर्न पनि आग्रह गरे ।
कार्यक्रममा समितिका पूर्व सदस्य दीपक ज्ञवालीले ५ नम्बर प्रदेशका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुले न्यूनतम पारिश्रमिक नपाइरहेको अवस्था रहेको कार्यपत्र प्रस्तुत गरेका थिए । ५ नम्बर प्रदेशमा एक हजार सात सय ३३ जना पत्रकारहरु कार्यरत रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरुले अहिलेपनि आफूहरुले ऐनमा तोकिएको न्यूनतम पारिक्ष्मिक नभएको र नियुक्तिपत्र विनै काम गर्न वाध्य भएको गुनासो गरेका थिए ।