शालिकरा मुसाफिर
दाङ ३० जेठ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्बन्ध अपरिहार्य रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । साविक लक्ष्मीपुर गाविसमा रहेको मावि डाँडागाउँ गोग्लीमा शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समिति बीच भएको शैक्षिक गुणस्तर सुधार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा बोल्ने बालबालिकाहरुले विद्यालयमा अहिलेसम्म पनि सबै पाठ्यपुस्तक नआएको, विद्यार्थीको संख्या धेरै र कक्षा कोठा सानो भएकाले पठनपाठनमा कठीनाइ भएको, खेलकुद मैदान र खेलकुद सामाग्रीको अभाव भएको गुनासो गर्दै त्यसबारेमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई तत्काल मागको सुनुवाइ गर्न आग्रह गरेका थिए । उनीहरुले विद्यालयमा कम्प्यूटर थोरै भएको र भएका कम्प्यूटर पनि विग्रीएर थन्किएको, विज्ञान विषयको ल्यावमा सामाग्री प्रयाप्त नभएको बताएका थिए । बालबालिकाहरुले विद्यालयमा प्राथमिक उपचार सामाग्री र सेनेटरी प्याडको व्यवस्था गर्न माग गरेका थिए ।
बालअधिकार चेतना समूहका अध्यक्ष दीपक विकको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति विप्लप अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका शिक्षकहरुले नीतिमा भएका कुरा व्यवहारमा कार्यान्वयन हुन सके शैक्षिक गुणस्तरमा सुधार आउँन सक्ने धारणा राखेका थिए । उनीहरुले शिक्षकहरुलाई मूल्यांकनको आधारमा सम्मान गर्ने परिपाटीको विकास गर्न सके शिक्षकहरुमा उत्साह जाग्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति विप्लप अधिकारीले शिक्षकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बन्न आग्रह गर्दै योजना बनाएर काम गरे देखिएको आर्थिक अभावमा कमी आउँने कुरामा जोड दिए । विभिन्न कारणले गर्दा पाठ्यपुस्तकको अभाव देखिएकाले वैकल्पिक उपाय खोजेर भए पनि पठनपाठन गर्नुपर्ने बताएका थिए । अर्का वक्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेलले शिक्षक र विद्यार्थीहरु अनुशासित र लगनशिल भइ आफ्नो दायित्व पूरा गर्न तर्फ उन्मुख हुन पर्ने भन्दै विद्यालय व्यवस्थापन समिति विद्यालयको चौतफी विकासको लागि प्रतिवद्ध रहेको बताए ।
त्यसैगरी विद्यालयका प्राधानाध्यापक शतिषकुमार आचार्यले शिक्षक र विद्यार्थीहरुले उठाएका जायज माग प्रति विद्यालय प्रशासन सकारात्मक भएको र श्रोतको पहिचान गरी पुरा गर्ने प्रतिवद्धता गरेका थिए । विद्यार्थीको चाप र आर्थिक अभावका कारण चाहेर पनि कतिपय काम पूरा हुन नसकेकोे बताउँदै विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्नको लागि शिक्षक र विद्यार्थीहरु पनि आफ्नो अधिकार र कर्तव्यको ख्याल गर्दै लाग्नु पर्ने धारणा राखेका थिए ।
इन्सेका जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिर स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम दर्जन बढी शिक्षक तथा विद्यार्थीहरुले शैक्षिक गुणस्तरमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन चेतना समूहका संरक्षक शिक्षक विष्णु भण्डारीले गरेका थिए ।