दाङ, २८ जेठ । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका वडा नं. १८ ले आज (शनिबार) झाँकीसहित ¥याली तथा सभाहरु सम्पन्न गरेको छ । मसिनास्थित वडा सम्पर्क कार्यालयबाट बाजागाजासहित शुरु भएको ¥यालीले वडाका विभिन्न टोलहरुमा पुगी कोणसभा गरेको हो ।
मसिनाबाट शुरु भएको ¥याली सोतियाघाट नयाँ बस्ती पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र घोराही उपमहानगरका मेयरका उम्मेदवार जीवन गौतमले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई भोट दिएर विजयी बनाउन अपील गर्नुभयो । जनताका हरेक समस्या नजिक रहेर काम गर्ने माओवादी मात्रै भएको भन्दै उहाँले विकास निर्माण र समृद्धिका लागि पहल गर्ने पनि माओवादी नै भएको दावी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका तर्फबाट घोराही उपमहानगरकी उपमेयरकी उम्मेदवार सीता चौधरीले महिला, दलित, उपेक्षित र उत्पीडित वर्गका लागि लड्ने माओवादी मात्रै भएको भन्दै चुनावमा माओवादीलाई भोट दिएर विजयी गराउन आग्रह गर्नुभयो । माओवादीले जितेमात्रै महिला, दलित र उत्पीडित वर्गका हकअधिकार सुरक्षित हुने चौधरीको भनाई थियो ।
गिठेपानीमा कोणसभा सम्पन्न गरी उक्त ¥याली गुम्बा, रानीजरुवा, ढोडेनी, तल्लो फुर्सेखाली, रझेना, तल्लो रझेना, ट्राफिकचोक, नवलपुर, महदेवा, अम्बापुर, बासखोली हुँदै सालघारीमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई माओवादी केन्द्रकी महाधिवेशन आयोजक समिति सदस्य भीमकुमारी बाँठामगर, विद्यार्थी केन्द्रीय नेता विनोद पुन, माओवादी केन्द्रको तर्फबाट वडा नं. १८ का अध्यक्षका उम्मेदवार सतबहादुर रोका, पार्टीका वडाअध्यक्ष मधु अर्याललगायतले सम्बोधन गर्नुभएको थियो । ¥यालीमा करिब ६–७ सय कार्यकर्ता एवम् वडाबासीको सहभागिता रहेको थियो ।