शरद रेग्मी
दाङ, २८ जेठ । शुक्रवार अपहरणमा परेका तुलसीपुर प्रतिष्ठित व्यापारी राज कुमार श्रेष्ठको अवस्था आज आइतवारसम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भए पछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको छ । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ ।
यता शुक्रवार तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी राज कुमार श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । उनका अनुसार प्रहरीले कलडिटेलका आधारमा घटनाको नजिक पुगेको वताउनु भएको छ । साथै एसपी सिंहले अनुसन्धानलाई व्यापक वनाउन गहन शुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिए ।
श्रेष्ठसंगै घोराहीका एक जना ठेकेदार रनवहादुर घर्ती र अर्का एक जना महिलालाई समेत अपहरणकारीले संगै लगेर गएको प्रत्यक्षदर्शीहरुले वताएका छन् । श्रेष्ठ विगत लामो समयदेखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै आउनु भएको छ । यसै विच तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानवअधिकारीवादी संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन।
मानवअधिकार तथा शान्तिसमाज दाङ शाखाले आइतवार विज्ञप्ती जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईका लागि अपिल गरेको छ । शान्तिसमाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले विज्ञप्ती जारी गरी मान्छेको वांच्न पाउने अधिकार हरण गर्न कसैलाई पनि छुट नभएको भन्दै तत्काल श्रेष्ठको रिहाईका लागि अपिल गरिएको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाले घटनाको विषयलाई लिएर आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सभापति विनोद कुमार श्रेष्ठ र महासचिव बालाराम खड्काले विज्ञप्ती जारी गरी व्यवसायी राजकुमार श्रेष्ठको सकुसल रिहाई गरी दिन सम्वन्धीत पक्षसंग माग गरिएको छ ।