सन्तोष दहित
दाङ, १७ जेठ । स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकै गर्दा दाङमा पनि चुनावीको चहलपहल सुरु भएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको जिल्लाको रुपमा चिनिएको दाङमा कुन–कुन पार्टीबाट को–को थारु नेताहरु उठ्दैछन भनि सवैको चासोको विषय बनेको छ ।
दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकासहित १० स्थानियत तह रहेको छ । यी दश वटै तहबाट एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसेको छ भने नेपाली काँग्रेसले भने अझै टुंगो लगाउन सकेको छैन । जिल्लामा सवैको चासोको रुपमा हेरिएको घोराही उपमहनागरपालिकाको प्रमुख सहित एक गाउँपालिकाको प्रमुख र दुई गाउँपालिकाको उपप्रमुख र धेरैको संख्यामा वडा प्रमुखमा एमाले थारुलाई उठाएको छ ।
नेकपा एमालेले घोराही उपमहानगरपालिकाको मेयरमा पार्टीको पुर्व जिल्ला अध्यक्ष नरुलाल चौधरी उठाएको छ । त्यसैगरी दंगिशरण गाउँपालिकाको अध्यक्षमा भागिराम चौधरी र गढवा गाउँपालिकाको उपाध्यक्षमा शान्ती चौधरी उठाएको छ । पार्टीका अध्यक्ष टीकाराम खड्काले तुलसीपुर उपमहनागरपालिका, घोराही उपमहनागरपालिका र अन्य गाउँपालिकामा पनि अरु पार्टीभन्दा धेरै वडामा थारुहरुलाई प्रमुख पदमा उम्मेदवार बनाएको जानकारी दिए ।
नेकपा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपमेयरमा सीता चौधरी, लमही नगरपालिकाको उपमेयरमा कालुराम चौधरी, दंगिशरण गाउँपालिकामाको अध्यक्षमा होरीलाल चौधरी ‘ब्रज’, राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी, गढवा गाउँपालिकाको उपाध्यक्षमा रमा चौधरीलाई उठाएको नेकपा माओवादी केन्द्रका दाङका सहइन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ले जानकारी दिए ।
डायमण्डले थारुको बाहुल्य रहेको वडामा पनि वडा प्रमुखमा थारु उम्मेदवार बनाएको बताए । त्यसैगरी संघीय समाजबादी फोरम नेपाल तर्फबाट केन्द्रिय परिषद सदस्य प्रकाशकुमार चौधरी लमही नगरपालिकाको मेयरम उठाएको सघीय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवले जानकारी दिए ।