दाङ, २६ चैत । प्रहरीले सुनबाट निर्मित गौतम बुद्धको मूर्तिसहित चार तस्करलाई नियन्त्रणमा लिएको छ । मूर्तिसहित सल्यान, रिम–१ का खड्क केसी, खिमलाल केसी, सिनवाङ–४ का छवि भण्डारी र सोही ठाउँका तुलबहादुर बुढालाई हर्नेटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसरी बरामद गरियो २० करोडको मूर्ति
रिम–१ सल्यानका खिमलाल केसीको समूहले सुनको मूर्तिको कारोबार गर्छ भन्ने सुराकी दाङ प्रहरीले पाएको थियो । उहाँको पिछा भइरहेको थियो । प्रहरी आफै गौतम बुद्धको मूर्तिको ग्राहक बन्यो । प्रहरीले ग्राहक बनेर मूर्तिको मूल्यमा बार्गेनिङ गरे । तस्करले मूर्तिको मूल्य २५ करोड रुपैयाँ भने । लामो समयसम्मको मोवाइलमा कुराकानीपछि २० करोड रुपैयाँमा कुरा मिल्यो । तस्कर उनीहरुलाई भेट्न मूर्ति लिएर आउन राजी भए ।
उनीहरुबीच सुरुमा तुलसीपुर उपमहानगरपालिका–४ गणेशपुरस्थित पार्क नजिकैको जंगलमा चैत १४ गते भेट्ने कुरा भयो । मूर्ति तस्कर र ग्राहकको भेषमा पुगेका प्रहरीबीच भेट भयो । तर, एम्बुलेन्सले साइरन बजाएको सुनेपछि प्रहरी आएको आशंकामा तस्करहरु भागे । सुनको मूर्ति नियन्त्रणमा लिने प्रहरीको सपना सपनामै सीमित बन्यो । प्रहरीले ग्राहक बनेर उनीहरुको पिछा गर्न छाडेन ।
चैत २१ गते प्रहरी उनीहरुलाई भेट्न छिमेकी जिल्ला सल्यानको कपुरकोट पुग्यो । त्यहाँ पनि भेट भयो । तर, कुरा मिलेन । फेरि उनीहरुबीच तेस्रोपटक भेट्ने कुरा भयो । गएराति ग्राहक बनेको प्रहरी र तस्करबीच तुलसीपुर–सल्यान सडक खण्डको हर्नेटी स्कुल पछाडि भेट्ने कुरा भयो । दुवै समूह रातको करिव १० वजे त्यहीँ पुगे । ग्राहक बनेर पुगेका साधा पोशाकका प्रहरीलाई सुन तस्करको सुरक्षामा खुकुरी र तरबारसहित खटिएको करिव २०–२५ जनाको जत्थाले घेरिसकेको थियो । तस्करले मूर्ति देखाए ।
जब तस्करले मूर्ति बोराबाट निकाले तब ग्राहकको भेषमा पुगेका प्रहरीले आफू प्रहरी भएको भन्दै असली परिचय दिए । प्रहरी भन्ने चिन्नासाथ तस्कर खिमलाल केसीले प्रहरीलाई ढुंगा हान्न खोजे । लगत्तै प्रहरीले आफूसँग भएको पेस्तोल निकाले । प्रहरीले पेस्तोल निकालेपछि तस्करको सुरक्षार्थ खटिएको जत्था नजिकै आयो । तस्कर छवि भण्डारीले प्रहरीको टाउकोमा ताकेर खुकुरी हान्न थालेकै बेला प्रहरीले चार राउन्ड गोली चलायो ।
प्रहरीले गोली चलाएपछि तस्करको भागाभाग भयो । प्रहरीको टाउकोमा गोली हान्न खोज्ने तस्कर भण्डारीको खुट्टामा गोली लाग्यो । प्रहरीले सुनबाट निर्मित गौतम बुद्धको मूर्तिसहित भण्डारीलगायत चारजना तस्करलाई नियन्त्रणमा लिन सफल भयो । उनीहरु चारैजना दाङ प्रहरीको हिरासतमा छन् र अनुसन्धान जारी छ । गणेश आचार्य / गणतन्त्र दैनिकबाट