धनिराम शर्मा (ऋतुविचार)
जब कांक्रेविहारदेखि शान्तिगाँउ जेलबाङको यात्राको कार्यतालिका बन्यो, तब आत्मीय साथी गजेन्द्र बोहरासंग मिनि लुम्बिनी कांक्रेविहारबाट शान्तिको सन्देश लिएर हामी शान्तिगाँउ जेलबाङसम्मको यात्रामा निस्क्यौ, चैत्र १ मा दाङ नेपालगंज हुदै २ गते पर्यटन पत्रकार संघ सुर्खेत र ४ गते रुकुमको अधिवेशन सम्पन्न गर्ने केही औपचारिक कार्यक्रम थिए, सुर्खेत संघका साथीहरुको संयोजनमा कांक्रेविहारको अध्ययन अवलोकनपछि सन्देश लिएर हामी भेरी नदीको किनारै किनार सल्यान हुदै जाजरकोटको कुदुमा पुग्यौ,, कुदुलाई बिदाई गर्दै भेरी नदीको झोलङ्गे पुलसंगको अंकमालमा चौरजहारी पुग्यौ । चैत्र ३ गते भेरी नदीको किनारै किनार मुसिकोट पुग्यौ, यात्रामा भेरीको कन्चन जल समुद्र भेट्न दौडिरहेको थियो, भेरी जलाधारको मनोरम दुष्यलाई अबलोकन गर्दै थोत्रो बसमा हामी कोचिएका थियौ,बाटो निकै डरलाग्दो थियो, संभावनाका मनोविश्लेषण गर्दै करिब ६ घण्टापछि मुसिकोट पुग्यौ ।
चैत्र ४ गते गुरिल्ला पदमार्गको तेश्रो रुटको अन्तिम बिन्दु मुुसिकोटबाट हाम्रो यात्रा रुकुमकोट तर्फ हानियो, पश्चिम नेपालको उत्कृष्ट पदमार्ग हुन सक्ने संभावनालाई उजागर गर्न हाम्रो कलम र क्यामेराहरु धेरै वर्षदेखि क्रियाशिल छन्, आर्थिक समृद्धिको लागि निरन्तर हजारौ शब्द र हजार घण्टा दृष्य छाँयाकन गरेका हाम्रो क्यामेराले यस वर्ष पनि गुरिल्ला पदमार्गको प्रवद्र्धनमा राज्यको भूमिका खोज्दै दुरदराज पुगेको हो । यस क्षेत्र प्रकृति र संस्कृतिसंगै ऐतिहासिक राजनीतिक घटनाक्रमको उच्चतम स्थल हो,दश वर्षै द्वन्द्वले थिलो थिलो पारेको समाजको समृद्धिको सपना देखाउने र यसलाई विपनामा बदल्ने एउटा आधार हो,पर्या, सांस्कृतिक र युद्ध पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने संभावनालाई देश दुनियाँसम्म पुराउने शिलशिलामा नयाँ श्रृंखलामा हामी यता हानिएका हौ, खोजी तथा व्यवसायीक पत्रकारिताको सामाजिक उत्तरदायित्वले दुरदराजको संभावना कोट्याउने र राज्यलाई निगरानी गर्ने हाम्रो मुख्य ध्ययको अर्काे श्रृंखला गुरिल्लापदमार्गको स्थलगत न्यूज रिर्पाेटिङ नै थियो ।
मुसिकोटबाट घोर्खानी आइपुग्दा सिस्ने हिमालले हामीलाई सेता दाँत देखाएर स्वागत गरिरहेको थियो, पूर्वी रुकुमका मगर बस्तीका ताँतीहरु निकै सुन्दर देखिन्थे, समृद्ध भविष्यको कल्पनासंगै उनीहरुका दैनिकी चलिरहेका थिए, दशकयता रुकुमले गरेको विकास प्रगति र प्रकृतिको वैभवता निकै रहर लाग्दा देखिन्थे, जनार्दनको जिल्ला भएर पनि होला जता ततै बाटाहरु खोलिएका थिए, गाँउहरु माइक्रोमय भएका थिए,पहाड नै छेडेर पूर्व पश्चिम लम्किएको मध्यपहाडी लोकमार्गले नेपालीको भविष्यको दिशानिर्देश गर्दैथियो, गाडी खसे चोक्टो पनि नभेटिने जोखिमपूर्ण भीर पहरा काटेर मध्यपहाडी लोकमार्ग भेरी नदीलाई जिस्काउदै कमल दहसंग स्पर्श गरिरहेको थियो, हामी विकास, प्रकृति र संस्कृतिको संगम स्थलहरुको तन मन र क्यामेराले चुम्बन गरिरहेका थियौ, यात्रा कठिन थियो, तर सुन्दर सपनाका थोपाहरुले मनका अन्तरंगमा स्पर्श गरिरहेका थिए, गाँउ बस्तीमा अझै समस्या र अप्ठ्याराहरु देखिन्थे तर भौतिक जीवनहरु केही कठिन देखिएपनि भविष्यको सपना निकै बलवान देखिन्थे, सिस्नेको काखमा रहेका मनोरम बस्तीहरु डर लाग्दा पहाड र खोँचमा सुन्दर सपनाहरुसंग अंकमाल गरिरहेका थिए, विगतको कहाँली लाग्दो दिनलाई भुल्दै उनीहरु आगन्तुकहरुको न्यानो स्वागत गर्ने हतारमा थिए, ग्रामीण पर्यटन आधार होमस्टेको केही अभ्यास गदै गुरिल्ला पदमार्गलाई आर्थिक समृद्धिको आधार बन्न सकोस् भन्ने उनीहरुको चाहाना र कामनाहरु गुराँसले रंगिन बनेका भिमकाय पहाडमा ठोक्किरहेका थिए ।
चैत्र ६ गतेको करिब दिउसोको ४ बजिसकेको थियो, लुकुमबाट महत फर्कनु थियो, मौसम अत्यन्तै प्रतिकृल थियो,भूमे लेक, चौरी लेकहरु हिँउले छोपिएका थिए, चिसो अचाक्ली थियो, ट्रेकिङमा निस्किएका हामीसंग लजिष्टिक सामाग्री पर्याप्त पनि थिएनन्, तैपनि कठाँग्रीने चिसोसंग निहँु खोज्दै पानी– पानी महततिर पाइलो सोझियो, काँक्री फर्कदा करिब साढे सात भैसकेको थियो, प्रतिकुल मौसम अन्धार बन्दै गएको निर्मम रातमा महततिर पाइला चले, बाटो अप्ठ्यारो नभएपनि मौसम र समय धेरै घर्किसकेको थियो, मोबाइलको पिलपिले उज्यालोमा लठ्ठीको साहारले महत पुग्नु नै थियो, लठ्ठी र चाउचाउको भरमा करिब ९ बजे महत पुगियो, चिसो अनि भोकले लखतरान परेका हामीलाई महतमा बास खोज्न सजिलो थिएन, तैपनि करिब ३ बस्ती रहेको महत प्रहरी चौकीका इन्चार्ज मोहन नेपालीसंगको कुराकानीले ढ्याप्ली होटेलमा बासको निधो भयो, अनुनय विननयको प्रयासपछि रात गुजार्ने अलिखित सम्झौता भयो होटेल संचालक गंगा बुढासंग, अन्तमा कोच्चकाच्च गरेर भएपनि चिसो रात काट्ने मेसोमा गंगाजी पनि सहमत भईन् ।
चैत्र ८ गते विहानै स्थानीय अगुवा रेशमबहादुर शाहको सम्पर्कमा थबाङको दशक पछिको विकास र प्रगतिको विषयमा संवाद गरियो, स्थानीय अगुवा गिरिस पुन, अमित घर्ती र विराट झाँक्री लगायतका स्थानीयसंगको गहन संवादपछि हामी बेलुकी जनवादी विद्यालयको अध्ययन गर्दै राँचीबाङस्थित जनकम्यूनको जर्जर अवस्थाको अध्ययन गर्न हानियौ, कम्यूनमा अग्रज पत्रकार मौसम रोकाको आमा रामसरी रोका मात्र हुनुहुदो रहेछ, उहाँसंगको छोटो सम्वाद सकेर हामी रात्री बासको खोजीमा लाग्यौ, सौभाग्यले राँचीबाङमैे कर्मबहादुर पुन दाईको सम्पर्कमा ढीडो सिस्नो स्वादसंगै आथित्यताले रात बित्यो ।
हिँउहिउैले ढाकिएको पहाडको शिरानबाट जलजला पुग्ने सानो गोरेटोबाट हामी प्रवेश गरेका रहेछौ, शुरुमा पृय लागेको गोरेटोमा मानव पाइला एक डोब त थियो, अरु धेरै पाइलाहरु जंगली जनावरको भेटिएका थिए, अत्यन्तै डरलाग्दो बाताबरण बन्दै गएको थियो, जलजलाको आसपासमा छिनछिनमै फेरिने मौसमको फेरबदल अनि हिमपातको संकेत घण्टौ काटेर नसकिने गोरेटोको हिँउमा हामीलाई परिशान हुदै गयो, सामान्य जुत्ता चप्पल अनि करिब दुइ फुट गहिरो हिँउको रास अन्कन्टार जंगलमा हामी सकि नसकि पाइलो बढायौ, पाँच मिनेट हिँउ काट्दा बिसाउन पर्ने हुदै गयो, खुट्टा हिँउले चाउरिन थाले सबै शरिर जम्ने जस्तो हुदै गयो, पीडाले आँखाका डिलमा आँसु आइपुगेका थिए, हाम्रो संवादको श्रृंखला बन्द जस्तै भएको थियो,पेटमा चाउचाउका धर्सा बाहेक अरु केही थिएन् , हिँउले चुसेर ज्यान लखतरान बन्दै गयो, पानी प्यासपछि हिँउले प्यास मेटाउदै गर्दा आधा बाटो आइपुग्दा हामीसंग डरको आँसु र आफन्तको याद बाहेक सबै हराउदै थिए , ट्रेकिङको यात्रामा सही सूचना र बन्दोबस्तको अभावको बाबजुद् हामीसंग संकट झेल्दै पाइलो बढाउनुको विकल्प थिएन्,हिँउ काट्दा चिप्लीए मृत्यूसंग अंगालो मार्नुको शिवाय अरु केही थिएन् हामीसंग भएको तागत र साहस कमजोर बन्दै थियो, तैपनि दक्षिण हेर्दा डर लाग्दो पहाड उत्तर हेर्दा सिस्ने,धवालागिरी निलगिरीहरुले फिस्स दाँत देखाइरहेका थिए, मनोरम हिमश्रृंखलाका ताँतीले मनमा केही सुन्दरताको सास प्रवाह गरिरहेको भान हुन्थ्यो तर कठिन र मृत्यू नजिकको भीर पहराको हिँउको थुप्रो कटाउनु हाम्रा लागि कालसंग निँहु खोजे जस्तै थियो ।
कठिन यात्राको समिक्षा गर्दै हामी शान्तिगाँउ जेलबाङतिरको पदमार्गतर्फ लाग्यौ, पदमार्गको आसपासमा पनि हिँउ जमेको थियो, अन्कन्टार जंगल मानवरहित दुनियाँ तर प्रकृतिको अदभूत कला, भोक प्यास थकाइको बाढीको बीचमा हामी सुकलबाङतर्फ हानियौ, सुकलबाङको यात्रामा पनि हिँउले बाटो थुनेको थियो, जताततै हिँउको थुप्रोले हामीलाई त्रासदी दिदै थियो, साथी गजेन्द्रले सुकलबाङको यात्रा स्थगित गरि जलजला धरमशालामा रात कटाउने प्रस्ताव गर्नुभयो तर हामीसंग कुनै लजिष्टिक थिएन, न त खानेकुरा । जसले गर्दा जलजलाबाट बाहिरीनुको विकल्पै थिएन, साथीको आग्रहलाई जोरजबस्त सुकलबाङहुदै जेलबाङ पुग्न आग्रह गरे, केही क्षणमा हामी एक अर्कासंग बोल्न सक्ने अवस्थामा थिएनौ, तर मानवरहित दुनियाँमा एकले अर्काेको भरोसामा यात्रा पुरा गर्नु नै थियो, केही समयको निचोडपछि हामी फेरि हिँउको थुप्रोमै चिप्लेटी खेल्दै जलजलाबाट जेलबाङ हानियौ, पेटमा चाउचाउको धर्सा विलाइसकेको थियो, पानीको नाँउमा जलजलामा खनिएको कुण्डको पानी बाहेक हामीसंग केही थिएन् तैपनि लड्दै भिडदै शान्तिगाँउ पुग्नुको विकल्प थिएन।
अन्तमा प्रकृति, संस्कृति र युद्ध सम्पदाले समृद्ध गुरिल्लापदमार्गको आसपासको क्षेत्रको विकास गर्न राज्यले पर्यटन पूर्वाधार, पर्यटन शिक्षाको क्षेत्रमा लगानी गर्न सके पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने हाम्रो यात्राको निष्कर्ष रहेको छ, प्रकृतिसंगको कठोर यात्रा होउन चाहे समुदायको न्यानो स्वागतले हामी जस्ता खोजी व्यवसायीक पत्रकारहरुलाई यस यात्राले थप ज्ञान उपलब्ध गराएको छ भन्ने हाम्रो बुझाइ हो ।
गुरिल्ला पदमार्ग पश्चिम नेपालको उत्कृष्ट मार्ग बन्न सक्छ, यद्यपी राज्यले सही नीति र योजना लागु गर्न सके युद्धले थिलो थिलो भएका समुदायको जीवन सुधार गर्न गतिलो आधार बन्न सक्नेछ, तसर्थ गुरिल्ला पदमार्गको व्यवसायीकरण गर्न राज्यले लगानी गरि दीगो आर्थिक विकासको ढोका खोल्न अब ढीला गर्न हुदैन ।