दाङ, ११ चैत । नेपाल पत्रकार महासंघ दाङशाखाको आज वसको बैठकले विभिन्न निर्णय गरेको छ । नमहासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा निवर्तमान अध्यक्ष सुदीप गौतमको आतिथ्यमा वसको बैठकले महासंघको आगामी कार्यकालका लागि तीन वर्षे कार्ययोजना निर्माण गरी अनुमोदन गर्नुका साथै उक्त कार्ययोजनाको सुझावका लागि केन्द्रीय तथा प्रदेश सभासद् तथा अग्रजहरुसँग छलफल गरी सार्वजनिक गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी महासंघ निर्माणाधीन भवनको निर्माण तथा भवनको अन्य मर्मत सम्भारका लागि अध्यक्ष सविन प्रियासनको संयोजनमा सहयोग संकलन गर्न पहल गर्ने, महासंघका विषयगत कामहरुलाई प्रभावकारी रुपले सम्पन्न गर्नका लागि निम्नलिखित विभागहरु गठन गरी संयोजकहरु तोकिएको छ । जसअनुसार महिला विभाग संयोजक उपाध्यक्ष लीला शाह, संगठन विभाग संयोजक सचिव भुपेन्द्र वली, प्रकाशन विभाग संयोजक अध्यक्ष सविन प्रियासन, तालिम विभाग संयोजक उपाध्यक्ष डिल्ली मल्ल र आर्थिक विभाग संयोजक कोषाध्यक्ष आरके शीतल रहनुभएको छ ।
त्यस्तै महासंघको मुखपत्र चौथो अंग, सञ्चार डायरी र २०७४ सालको क्यालेण्डर प्रकाशन गर्ने निर्णय गरिएको छ । जसअनुसार चौथो अंग प्रकाशनका लागि सचिव भुपेन्द्र वलीलाई, सञ्चार डायरीका लागि उपाध्यक्ष डिल्ली मल्ललाई र क्यालेन्डर प्रकाशनको लागि सहसचिव गोकर्ण पौडेललाई समन्वयको जिम्मेवारी दिइएको छ । जिल्लामा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई सूचना हकसम्बन्धी अधिकारबमोजिम सूचना प्रवाहलाई सरल र सहज बनाउन अपील गर्नुका साथै जिल्लामा कार्यरत सम्पूर्ण सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता २०७३ पूर्ण रुपमा लागू गर्न बैठकले आग्रह गरेको छ ।
