देविकृष्ण रोकाया
पश्चिमको अफगानिस्तानदेखि पूर्वको म्यानमारसम्मको समग्र हिमालय क्षेत्रमा अवस्थित तालहरुको तुलनामा सबैभन्दा सुन्दर मानिएको रारामा पुगेका एक चिनियाँ पर्यटकले भनेका थिए “मानसरोवर सँधै ठूलो र राम्रो लाग्थ्यो, तर राराको तुलनामा मानसरोवर हरेक हिसाबमा तल रहेछ ।” २०२० सालमा राजा महेन्द्र रारा पुग्दा राराको सुन्दरताप्रति लोभिदै रारा कि अप्सरा शिर्षकको कविता समेत रचना गरेका थिए । सोहि बर्ष जिल्ला पञ्चायतको बैठकले रारालाई महेन्द्र तालको नामाकरण समेत गरिएको थियो ।
सन् २००७ मा विश्व रामसार सुचिमा सुचिकृत भएको राराताल आज नेपालको बहुमूल्य पुजिको रुपमा रहेको छ । कर्णाली क्षेत्रमा अवस्थित राराको बेग्लै पहिचान छ । रारा नेपालको अकाटीय पुँजी हो । राराको गहिराहीले नेपालको छाती विश्वमा चौडा बनाएको छ । स्वर्गकी परीको तक्मा पाइसकेको रारालाई यतिबेला दुनियाँले विभिन्न आँखाले हेरिरहेका छन् । कसैले मनको उदगारको रुपमा त कसैले मनोरन्जनका रुपमा हेरिरहेका र बुझिरहेको परिवेशमा निश्चल राराको नाममा राज्यका उच्चपदस्त भनाउँदाहरुले भने कमाइ खाने भाँडो बनाउन खोज्दै छन् ।
राराको अस्तित्वलाई नस्ट पारेर कसैले पनि व्यक्तिगत रुपमा कमाइ खाने भाँडो बनाउने कुचेष्टा गर्यो भने त्यो मुलुकै आत्मघाती कदम हुनेछ । कर्णालीका फोटा बेचेर खान पल्केका एनजीओ आइएनजीओहरुले राराको बाटो धेरै ओहरदोहर गरे । तर उनीहरुले कहिल्यै राराको संरक्षणमा ध्यान दिएनन् । कर्णालीको पर्यटन विकास गर्ने ठेक्का लिएको कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन समितिलाई आफ्ना कार्यकर्ता र कर्मचारीहरु पाल्नै फुर्सद छैन ।
अहिले, रारामाथि बाहिरियाहरुको नजर परेको छ । रारा बचाउने राराबासीको योगदानलाई अवमुल्यन गदैँ बाह्य मान्छेहरुलाई राराको जिम्मा दिन खोजिएको छ । त्यो राराबासीका लागि कदापी स्वीकार्य हुनेछैन । जसरी आफ्नी आमालाई आफ्नो सन्तानको औधी माया हुन्छ त्यस्तै राराबासीलाई राराको माया त्यत्तिकै छ । यसमा कसैले हस्तक्षेप गरेर आफनो निजी सम्पति बनाउन खोज्नु देशकै र्दुभाग्य हुनेछ ।
राराको समग्र विकासका लागि एउटा अधिकार सम्पन्न रारा विकास बोर्ड समेत गठन गरेर जान नसकेको राज्यले यतिबेला सात तारे तथा बिभिन्न होटलहरुको नाममा रारालाई कौडीको मुल्यमा बेचिदै छ । हुन त हामी राराबासी विकासका बाधक हैनौँ । रारामा बनाउने साततारे देखी बिभिन्न होटलहरुको बजेटले समग्र कर्णालीको विकासलाई समाल्न सक्छ । जबकी कर्णालीमा यातायात सुबिधा समेत पुर्ण नभएको बेला बिजुली बत्तीको पुर्वाधार तयार नभएको बेला राष्ट्रिय सम्पत्तिभित्र तारे होटल खोल्ने योजना अगाडि बढाउनु कत्तिको जायज हुन्छ रु पर्यटकहरुलाई भित्र्याउने एकमात्र ताल्चा एयरर्पोट विश्वको सबैभन्दा खतरानाक एयरपोर्टको सुचीमा परेको छ ।
कर्णाली राजमार्गको स्तरोन्नती नहुँदा अझै पनि मृत्युमार्गको रुपमा परिचित छ । समग्र कर्णालीको स्थिति चिन्ताजनक छ । यो स्थितिमा आफुले कमाउन र नियमित दुहुनु गाई बनाउन केही उच्च पदस्थहरुले साततारे होटल तथा रेष्टुँराहरुको सम्झौता गर्दैछन् । अन्य विकासका पुर्वाधारहरु तयार नपारेर बिल्कुल होटलहरु तिर लाग्नु थप रारालाई दुर्गन्धीत र बाग्मतीको बाटोमा डो¥याउनु हो । तर परिवेश वस्तुगत स्थितिअनुसार विकासको बाटो खुल्नुपर्छ नै । कसैले पनि आफनो व्यक्तिगत हित अनुरुप रारालाई जोडनु हुँदैन । कसैको गोजी भर्न र कसैको निजी स्वार्थको लागि हुनुहुदैन । जनताको इच्छा र मनोभावना अनुसार नै विकासको प्रणाली अपनाइनुपर्छ ।
रारा बचाउ अभियानको सार्थकता
प्राकृतिक सुन्दरताका सवालमा स्वर्गसँग तुलना गरिने राराको प्राकृतिकपनको सम्वद्र्धन र प्रवद्र्धन अहिलेको अहं आवश्यकता हो । रारा पुग्ने हरेकजसो स्वदेशी तथा विदेशी पर्यटकको एउटै सुझाव छ “राराको प्राकृतिक सौन्दर्य जोगाउनुपर्छ । रारालाई सधैं यत्तिकै सुन्दर राख्न सके मात्र यहाँ पुग्ने पर्यटकको संख्या निरन्तर बढ्छ ।” हुन पनि विगतका वर्षको तुलनामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन पछिल्ला वर्षमा बढ्दै गएको छ ।
रारा बराबरको क्षेत्रफमा फैलिएको फेवातालको दुर्दशा देख्दा पनि माथिको भनाई र भावना व्यावहारिक देखिन्छ । एकातिर स्वदेश तथा विदेशमा राराको चर्चा बढ्दै गएको छ भने अर्कोतिर राराको प्राकृतिक सुन्दरताको अनुचित लाभ लिने उद्देश्यका साथ ठूलो चलखेल तथा विभिन्न प्रलोभनका भ्रम छर्दै रारा किनारमा काठमाण्डुका भन्दा महंगा तथा ठूला होटल खोल्न सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन संसोधन गरी निकुञ्जको कार्यविधि बनाई शंकास्पद रुपमा रारामा स्टार होटल खोल्ने व्यवसायीलाई सबैखालको कर छुट दिने निर्णय समेत गरिसकेको छ । यसखालको परिघटनाबाट रारा र राराको प्राकृतिकपन मात्र होइन, रारा नजिकको एकमात्र गाउँ मुर्मा पनि सिकार हुने निश्चित छ । निकुञ्जको नियम कानुन संशोधन समय सापेक्ष जनताको पक्षमा हुन जरुरी छ ।
मुगुको जिल्ला परिषद्बाट रारा राष्ट्रिय निकुञ्जको कार्यालय, निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक, सोका गेष्टहाउस पनि तालको किनारबाट उपयुक्त स्थानमा सार्ने सर्वसम्मत निर्णय भैसकेको अवस्थामा राराभन्दा बाहिर सीमित होटल खोल्न दिने र मुर्मा लगाएत अन्य गाउँलाई होमस्टे गाउँको रुपमा विकास गर्नु हितकर र वैज्ञानिक हुने देखिन्छ । जलवायु परिवर्तन लगायत विभिन्न प्राकृतिक प्रकोपका कारण वर्षेनी रारा तालको पानीको सतह घटिरहेको छ, तालको किनार बगरजस्तै देखिन थालेको सत्यलाई समेत आत्मसात गर्दै सरोकारवाला निकाय, राजनीतिक दलका नेता–कार्यकर्ता, व्यवसायी तथा हामी सम्पूर्ण मुगुवासी सचेत हुनु अहिलेको आवश्यकता हो । जब की एउटा राराको पर्यटन विकासले मात्रै पनि हामी कर्णालीवासि मात्रै हैन सिंगो देश सबल र समृद्ध बन्न सक्छ ।
राराको सवालमा सुनुवाई गर्नुपर्ने सम्पूर्ण निकाय र व्यक्तिहरुले समयमै सुनुवाई नगरेको खण्डमा भविष्यमा यो अभियानले विकराल रुप लिई दुःखद अवस्था समेत सिर्जना हुनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै स्वच्छ सुन्दर हाम्रो रारा, विकास गरौं मिली सारा भन्ने भावना आत्मसाथ गर्नु लाभदायक हुनेछ रारा मा पाँच तारे होटल होईन त्यहाँका जनतालाई होटल होमस्टे तालिम, नमुना गाउँ बनाउन पुर्वाधार विकासको आवश्यकता छ । हरेक कानुनले जनतालाई धुरी बनाउन आबश्यक छ ।
समकालीन परिवेशमै यहि चैत्र ३ गते नेपाल सरकारको मन्त्रीस्तरीय बैठक रारामा बस्दैछ । यो इतिहासमै सबैभन्दा स्वागतयोग्य कुरा हो । राराका लागि उक्त बैठकले के के निर्णय गर्छ यो हेर्न बाँकी छ । तर सरकारले यो परिवेशमा बैठक राख्नु नै हामी रारा बासी र समग्र कर्णालीबासीका लागि अनुकरणीय कुरा हो ।
हो, रारालाई उपभोग गर्ने र संरक्षण गर्ने दायित्व पहिलो स्थानीयको हुनुपर्छ । तर रारा बचाउने कर्तव्य समग्र राष्ट्रको हो । रारामा महंगो होटलका साथ प्राकृतिक विनासको होइन, सस्तो र उपयुक्त सेवा सुविधा सहितको होटल हुन् जहाँ सबै खाले आन्तरिक र बाहय पर्यटक बस्न सकुन् । नत्रभने रारा कसैको निजित्वको शिकार बाहेक अरु केहि हुनेछैन । सुन सिरानी हालेर नुनको खोजीमा भौतारिरहेका कर्णालीवासीको बाध्यतालाई नेपाल सरकारको रारामा हुने मन्त्री स्तरीय बैठकले सुनको माला लगाउने छ भन्ने अपेक्षा गरौं अहिलेलाई ।
( लेखक रोकाया रारा पर्यटन विकास समितका अध्यक्ष तथा रारा बचाउ अभियान्ता हुन् । ) टुरिस्म नेपाल डटकम बाट