
प्रकृति, संस्कृतिसंगै ऐतिहासिक परिघटनाले परिचित सिस्ने –जलजला क्षेत्र नयाँ पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने सम्वद्धहरु बताँउछन्, गुरिल्ला पदमार्गको केही भाग र पश्चिम धवलागिरीको तल्लो खण्डलाई जोडेर सिस्ने जलजला पदमार्ग बनाउन सकिने उनीहरुको मत छ । भौगलिक हिसाबले महाभारत श्रृंखलाको उच्च पहाडी भाग र हिमाली भागको तल्ल्लो खण्डलाई समेटेर नयाँ पदमार्ग बनाउन सकिएमा पर्यटन विकासमा टेवा पुग्ने बताइएको छ, सिस्ने जलजला पर्यटन पदमार्गको निर्माण गरि एक्टिभ र प्यासिभ टुरिज्मलाई भित्र्याउन सके यस क्षेत्रको पर्यटन विकासमा सुधार ल्याउन सकिन्छ, यद्यपी मानवीय तथा भौतिक पूर्वाधारलाई ध्यान दिन सके सिस्ने जलजला पर्यटन पदमार्ग देशकै अब्बल बन्न सक्ने पर्यटन विज्ञहरुको मत छ ।
मानवीय पूर्वाधार र भौतिक पूर्वाधारका पर्याप्त विकास हुन नसकेकोले यस क्षेत्रको पदमार्गहरुको बजारीकरण हुन नसकेको उनीहरुको दावी छ, एक्टीभ र प्यासिभ पर्यटकलाई यस क्षेत्रमा विभिन्न पर्यटकीय गतिविधि गराउन सकिन्छ, आकर्षण, बन्दोबस्त र मनोरन्जन जस्ता मुलभूत पक्षमा प्रवद्र्धन गर्न सकेमा सिस्ने जलजला पदमार्ग देशकै उत्कृष्ट पदमार्ग हुन सक्ने विज्ञहरुको ठम्याई छ । सिस्ने जलजला पदमार्गमा एक्टीभ टुरिज्मले रक क्लाम्बिङ, बी हन्टिङ ट्रेल क्यानोनिङ, माउन्टेइनरिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ र ¥याफ्टिीङ आदि साहसीक पर्यटन गर्न सक्नेछन् ।
त्यसैगरि प्यासिभ टुरिज्म अन्तरगत भ्रमणकर्ताले कल्चरल ट्रेल, सामानिज्म, आर्यूबेद, योगा, मेडिटेसन, न्याचुरल अवजर्बभेसन एण्ड स्टडी इत्यादी गर्न सक्नेछन्, जलजलाको पाटन क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका इन्सेन्टीभ टुरिज्म एक्टिभिटिज गर्न सक्ने छन्,पर्यटनका धेरै आयामले वैभव मानिने सिस्ने जलजलाका आसपास क्षेत्र उच्च पहाडीदेखि हिमाली हावापानी र सोही अनुसारको मानव सभ्यताको विकास भएको छ । प्रकृतिको अनुपम सुन्दर दृष्य, मानव निर्मित सभ्यताले बनेको सिस्ने जलजला क्षेत्र पर्या पर्यटन युद्ध पर्यटन, सांस्कृतिक पर्यटन, पर्वतीय पर्यटन, साहसीक पर्यटनदेखि यार्शा गन्तव्यको रुपमा पनि परिचित छ ।
नेपालमा आउने पर्यटकहरु मध्ये अधिकाँश प्रकृति र संस्कृतिमा रमाउन चाहान्छन्, तीनै पर्यटकलाई ध्यानमा राखेर यस क्षेत्रको पर्यटनको संभावनालाई उजागर गरिनु आवस्यक भएको पर्यटन अभियान्ताहरुको जोड छ, सिस्ने जलजलजा ऐतिहासिक राजनीतिक घटनाक्रमले जोडिनुसाथै यहाँको अथाह प्रकृति र संस्कृतिलाई बजारीकरण गर्न सिस्ने जलजला पदमार्गको प्रवद्र्धन गरिनु आवस्यक भएको त्रिविका ग्रामीण विकास विभागका प्रमुख प्राध्यापक डाक्टर प्रेम शर्माले बताए, पर्यटन शिक्षाको क्षेत्रमा जागरण आउन सके यस क्षेत्रको संभावनलाई नगदमा बदल्न सकिने उनको दावी छ, राज्यले स्पष्ट नीति निर्माण गर्ने र निजी क्षेत्रले लगानी गर्ने हिम्मत गरे पश्चिम नेपालकै सिस्ने जलजला उत्कृष्ट ट्रेलको रुपमा उजागर हुने सक्ने प्राध्यापक शर्माले बताए ।
यतिमात्र होइन पर्यटन क्षेत्रमा काम गर्ने निजी क्षेत्रका अगुवाहरुले पनि यसलाई प्रवद्र्धनका लागि हिम्मत गरेको देखिदैन । यद्यपी सन २०१२ मा गुरिल्ला पदमार्गको रेखाँकन गरिएको छ, पर्यटन बोर्ड जिविस रुकुम लगायतका निकायहरुको सहयोगमा गुरिल्ला पदमार्ग रेखाँकन भएको हो, म्याग्दीको बेनीबाट शुरु गरिएको पदमार्ग ढोरपाटन –जलजलाहुदै सुलिचौरमा आएर अन्त्य हुन्छ, गुरिल्ला पदमार्गको प्रवद्र्धन गर्न सरकारले पछिल्लो पटक केही लगानी गर्न ध्यान दिएपनि पर्याप्त हुन सकेको छैन, जनयुद्ध संग्राहलय बनाउनेसम्मका सरकारी घोषणा भएपनि खासै प्रगति हुन सकेको छैन, गुरिल्ला पदमार्गसंग जोडिने सिस्ने जलजला पदमार्गसंग ऐतिहासिक महत्व छ, तत्कालीन माओवादीले सिज अभियानको नाँउले राजनैतिक सांगठिनक अभियान संचालन गरेको थियो, त्यसैको आधारमा माओवादी विद्रोह देशभर संचार भएको हो ।
विशेष गरि पर्यटनमा एक्टीभ र प्यासिभ टुरिज्म हुने गर्दछ, एडभेन्चरमा रमाउने पर्यटकहरु एक्टिभ हुन् भने तिर्थाटन अवलोकन पूजापाठ दर्शन गर्न चाहाने पर्यटक प्यासिभ टुरिष्ट हुन् एक्टीभ टुरिज्ममा यद्यपी यीनिहरु बाह्रय पनि हुन सक्छन् या आन्तरिक पनि हुन सक्छन् , सिस्ने –जलजाल नयाँ ट्रेलमा भ्रमण गर्न चाहाने पर्यटकले रुन्टी स्वर्गद्धारी दर्शन , जलजजलामा बराह देवताको दर्शन गर्न सक्नेछन् , यतिमात्र होइन प्रकृति र संस्कृतिको अवलोकन गर्न भ्रमणकर्ताले जलजला पाटन क्षेत्रको जैविक विविधता, प्राकृतिक सुन्दरता, उत्तरतर्फको धवलागिरी हिमश्रृंखलाको नजिकैबाट अवलोकन, युद्ध सम्वद्ध मेमोरीहरुको प्रत्यक्ष अवलोकन र अध्ययन सबै गर्न सक्ने छन् ।
यसैगरि थबाङ लुकुम, तकसेरा, हुकाम मैकोट आदिको मगर संस्कृतिको मजाले स्वाद लिन सक्नेछन्, मगरहरुको आदिम सभ्यतामा आधारित जीवनशैली, संस्कृति परम्परा प्रकृतिप्रतिको आत्मीयता इत्यादीले पाहुनाको मन लोभ्याउने गर्दछ । राप्ती रुकुममा पर्ने सिस्ने हिमालको अवलोकनसंगै आरोहण समेत गर्न सकिने छ , सिस्नेका बेस क्याम्प लालपाटन हुदै सिस्नेगाँउमा रात बिताउन सकिनेछ, बाँफीकोटको होमस्टेमा बास बस्दै स्यार्पूको अदभुत जल सुन्दरतामा रमाउन सकिने छ, स्यार्पुको अवलोकनपछि मुसिकोट हुदै सल्यान खंगला छायाँ क्षेत्र, फलाबाङ दरबारको अन्तिम अवलोकपछि दाङ उपत्यका झर्न सकिने छ, करिब १५ दिनको पदयात्राले यस क्षेत्रको विविधताको राम्रो अध्ययनसंगै नयाँ अनूभुति दिने गर्दछ ।
सिस्ने जलजला नयाँ अवधारणा अनुसार पदमार्ग निर्माण हुन सके शहरी तथा ग्रामीण पर्यटनलाई सिधा जोड्न सकिन्छ, प्रस्तावित सिस्ने जलजला ट्रेलको मूख्य प्रवेशद्वार दाङ बनाउन सकिन्छ । दाङलाई आधार मानी रुन्टी स्वर्गद्वारीे लिबाङ हुदै धबाङ जलजला थबाङ लुकम(काँक्री)बाट तिलाको लेक पास गर्दै तकसेरा, खुरेललेक, हुकाम रन्मा लालपाटन, सिस्ने गाँउ, गुप्तदह –बाँफीकोट स्यार्पूबाट मुसिकोट पुग्न सकिन्छ । मुसिकोटबाट सल्यान खलंगाहुदै पुनः घोराही आउन सकिन्छ ।
समुद्री सतहबाट ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने हिमाल धवलागिरी हिमश्रंखला अन्तरगत रुकुम जिल्लाको रन्मामैकोटमा पर्दछ, सन १९७६ मा पाँच हजार माथिका हिम चुचुरामा बर्गिकृत भएको थियो, यद्यपी सिस्नेलाई कान्जिरोवा हिमश्रृंखलामा पर्दछ भनिएपनि हिमआरोही मानबहादुर खत्रीको सन २०१२ मा भएको सिस्ने आरोहणपछि यसको वास्तविक पहिचान बाहिर आएको हो । पर्या पर्यटन होस् चाहे पर्वतीय पर्यटनसंगै सांस्कृतिक पर्यटनका आयामले समृद्ध सिस्ने धवलागिरी हिमश्रृंखलामा पर्ने नेपालकै पाँच हजार माथिका दर्जनौ हिमाल मध्ये कान्छो हिम चुचुरो हो सिस्ने हिमाल । राजनीतिक ऐतिहासिक कालखण्डसंग जोडिएको साइनोकारण पनि सिस्ने जलजला पदमार्गको रेखाँकन हुन आवस्यक भएको सिस्नेका प्रथम आरोही मानबहादुर खत्रीले बताए, खत्रीका अनुसार कल्चर ट्रेलदेखि एडभेन्चर ट्रेलको प्रवद्र्धन गर्न नयाँ पदमार्गको प्रवद्र्धन आवस्यक छ । विगतको मेमोरीको विषयमा भावी पुस्तालाई देखाउनका लागि पनि यस्ता ऐतिहासिक महत्वका स्थानहरुको प्रवद्र्धन गर्न ढीला गर्न हुदैन खत्रीले भने,
एक्टीभ टुरिज्म र प्यासिभ टुरिज्मको लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सिस्ने जलजला पर्यटन पदमार्ग निर्माण गरिनु आवस्यक छ, ऐतिहासिक राजनीतिक घटनासंगै प्रकृति र संस्कृतिको अदभूत कलाले रंगिन बनेको यस क्षेत्र देशकै अब्बल पदमार्गको रुपमा विकास हुन सक्छ, दुर्लभ वन्य जन्तु वनस्पति र मगर संस्कृति र सभ्यताको अनुपम गन्तव्य सिस्ने जलजला युद्ध पर्यटनको पनि गन्तव्य हो । यद्यपी मानवीय तथा भौतिक पूर्वाधारको समुचित विकास हुन नसकिरहेको बेला दीगो पर्यटन नीति र कार्यक्रम निर्माण गरि सिस्ने जलजलाला पदमार्गलाई पश्चिम नेपालको उत्कृष्ट पदमार्ग बनाउने कुरामा अब ढीला गर्नु हुदैन ।