दाङ, १८ माघ । दाङ रामपुरको काडाखुट्टीमा चरण ब्यवस्थापन सहितको ब्यावसायिक माहुरी पालन तथा मह उत्पादन कार्यक्रम शुरु भएको छ । रामपुर—८ काडाखुट्टीमा रहेको शान्तिदिप महिला कृषक समूहले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदानमा ब्यावसायिक माहुरी पालन तथा मह उत्पादन कार्यक्रम शुरु गरेको हो ।
उक्त कार्यक्रम बारे जानकारी दिन सोमवार काडाखट्टीमा आयोजना गरिएको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा अन्र्तगत मह संकलन सहितको स्टोर घर निर्माण गर्ने, मह प्रशोधनकालागि बिभिन्न औजार तथा मेसिन खरिद गर्ने, मह छान्ने जाली खरिद गर्ने, माहुरीका लागि कृतिम आहार खुवाउने माहुरी गोला ब्यवस्थापन सिप बिकास तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रम गर्ने जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका सदस्य केशरा आचार्यले परियोजना अन्र्तगत अवको दुई बर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।
शान्तिदिप महिला कृषक समूहका अध्यक्ष भीमा दमाईको अध्यक्षता एंव कषि उद्यम केन्द्र नेपालगञ्जका क्षेत्रीय ब्यवस्थापक प्रतिमा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँतहमा आएको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नकालागि सवैको सहयोगको खाचो रहेको औल्याएका थिए ।
कार्यक्रममा बोल्दै सहयोगी संस्था राप्ति कषि स्नातक समाज दाङका संयोजक हरिप्रसाद शर्माले अहिलेसम्म दाङमा ७३ वटा उपआयोजनामा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले करिव २६ करोड रुपैया सहयोग गरेको जानकारी दिएका छन् ।