शरद रेग्मी
दाङ, ७ माघ । दाङको तुलसीपुर उद्योग बाणिज्य संघले यही माघ १३ गते देखि आयोजना गर्न थालेको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला २०७३ बाट एक करोड रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ ।
माघ १३ देखि २३ गतेसम्म तुलसीपुर अरनिको मैदानमा आयोजना गरिने महोत्सवमा पाँच लाख दर्शकलाई सहभागि गराउने, २० करोडको आर्थिक कारोवार गर्ने र त्यसबाट एक करोड रुपैयाँ बहुउदेश्यीय सभागृह निर्माणमा बचत गर्ने योजना रहेको संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।
स्वदेशी उत्पादन प्रयोग गरौ, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौ भन्ने नाराका साथ आयोजना गर्न थालिएको महोत्सवको अहिलेसम्म ९५ प्रतिशत तयारी पुरा भएको रिजालले जानकारी दिए । महोत्सवको उद्घाटन गर्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने संघले जनाएको छ ।
महोत्सवलाई सभ्य, पारदर्शि र भव्य बनाउनका लागि आफुहरु प्रतिबद्ध रहेको र सबैको सहयोगको अपेक्षा रहेको उनले बताए । महोत्सवलाई सुरक्षित बनाउन १२ वटा सिसि क्यामेरा जडान गरिनुका साथै विभिन्न तहमा सुरक्षाको व्यवस्था मिलाईएको समेत रिजालले पत्रकार सम्मेलनमा जानकारी दिए ।