इन्द्रेणी संवाददाता
दाङ, २५ पुस । दाङको त्रिपुर नगरपालिकाले ‘एक घर, एक रोजगार’ अभियानलाई अघि सारेको छ । नगरपालिकावासीहरुलाई दश वर्षमा एक घर, एक रोजगार बनाउने उद्देश्यले तेस्रो नगरपरिषदबाट यो अभियान अघि सारिएको हो ।
नगरपालिकाले सो अभियानका लागि आर्थिक वर्ष २०७४/७५ मा विभिन्न सीप विकासका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन पनि गरिएको छ । निकट भविश्यमा नगरपालिकाभित्र सीप विकासका कार्यक्रम होस् या प्राविधिक शिक्षाका विभिन्न अवसर जुटाएर दश वर्षभित्र नगरवासीलाई स्वरोजगार बनाउने लक्ष्य रहेको कार्यकारी अधिकृत थापाले बताए ।
नगरपालिकाले मात्रै यो अभियान सञ्चालन गरेको नभई नगरवासीहरुकै इच्छा अनुसार अभियानलाई नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत अघि सारिएको उनले बताए । ‘नगरवासीहरुले नै परिषदका योजना तर्जुमा कार्यक्रमबाट यो माग अघि सारेका हुन्’, उनले भने, ‘हामीले त्यसै सुझाव र मागलाई नगरपालिकाको नीति तथा कार्यक्रममा राखेका हौं ।’
दाङको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको त्रिपुर नगरपालिकाले परिषदबाट कृषि, पर्यटन, स्वाथ्य, खेलकुद, सरसफाइलगायतका महत्वपूर्ण क्षेत्रमा बजेट विनियोजन गरेको छ । नगरपालिकाले आव २०७४/७५ को नीति तथा कार्यक्रमका लागि चालूतर्फ ५ करोड ४७ लाख ६६ हजार ४ सय र पूँजीगतर्फ ९ करोड ९४ लाख ८२ हजार ६ सय गरी १५ करोड ५६ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरको कार्यकारी अधिकृत थापाले जानकारी दिए ।