इन्द्रेणी संवाददाता
दाङ, १९ पुस । दाङको घोराही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीव २५ करोड बजेट पास गर्दैछ । यही पुस २२ गते हुन लागेको २१ औं नगरपरिषदबाट चालु र पूँजीतर्फ गरी करीव २५ करोड रुपैयाँको बजेट पास गर्दैछ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ मा पनि अन्य आर्थिक वर्षजस्तै नगरपालिका क्षेत्रमा फोहरमैला व्यवस्थापन, चक्रपथ निर्माण, जलायस निर्माण, हरितनगर निर्माण, सडकलगायत भौतिक पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गर्दैछ ।
यसैबीच भरखरै मात्र सरुवा भएर आएका नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले आज नगरपरिषदका बारेमा दाङ जिल्ला उद्योग वाणिज्य संघ र सञ्चारकर्मीसँग छलफल गरेका छन् ।
सो अवसरमा जिल्लाको सञ्चार क्षेत्रमा टेवा पुग्ने सञ्चारसम्बन्धी अवधारण उनले राखेका थिए । पत्रकारिता क्षेत्रको विकासका लागि विभिन्न तालिम तथा पत्रकारहरुको प्रोत्सानका लागि नेपाल पत्रकार महासंघमा अक्षयकोष स्थापना गर्ने लगायतका कार्यक्रम परिषदमा लैजाने तयारी भएको कार्यकारी अधिकृत सापकोटाले बताए ।