इन्द्रेणी संवाददाता
दाङ, ५ पुस । पठन संस्कृतिको विकास नै मुलुकको संमृद्धिको विकास भएको सरोकारवालाहरुले बताएका छन् । सातौं पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको छठौं दिन आज महोत्सव स्थलमा आयोजना गरिएको ‘पठन संस्कृति देशको संमृद्धि’ विषयक संवाद कार्यक्रममा बोल्ने सरोकारवालाहरुले पठन संस्कृतिको विकास भएका मुलुक संमृद्धिमा निकै अगाडी भएको उल्लेख गर्दै नेपालको विकासका लागि पनि पुस्तक पठन संस्कृतिको विकास गर्न गर्न जरुरी रहेको बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङका अध्यक्ष एवं शैक्षिक महोत्सव मूल आयोजक समितिका संयोजक घनश्याम वरालको अध्यक्षतामा भएको कार्यक्रममा एकता पव्लिकेशनका प्रमुख रामचन्द्र तिमोखीले आजभन्दा ४० वर्ष पहिले नेपालमा खारै पुस्तकहरु प्रकाशन नहुँने र सबैजसो पुस्तक अन्य देशकै भर पर्नुपर्ने भएपनि पछिल्लो समयमा त्यो समस्या धेरैरुपमा समाधान भएको बताए । अझै पनि सबै पाठकसँग रुचीका पुस्तक नपुगको उल्लेख गर्दै त्यसका लागि राज्य र प्रकाशनहरु गम्भीर बन्नुपर्ने तिमोखीले बताए ।
कार्यक्रममा लामो समयदेखि दाङमा पुस्तक विक्री वितरण गर्दै आएको व्यवसायी मधेसूदन बैद्यले अझै पनि प्रकाशनहरु राजधानी भन्दा वाहिरका लेखकहरुको पुस्तक प्रकाशन गर्न नसकेको बताए । उनले व्यवसायीले पाठकका रुचिका पस्तकहरु पाठकसम्म पु¥याउने अधिक्तम प्रयास गरेपनि त्यो पूर्णरुपमा सफल भइनसकेको उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमको बारेमा पत्रकार सुशील गौतमले जानकारी गराएका थिए भने सहजीकरण नारायण नेपालले गरेका थिए ।