शुर बहादुर सिंह
जुम्ला – सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसैंपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भने – “असार, साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन, तर चैत, वैशाख, जेठ र असोजमा दैनिक २०–२५ आउने गरे पनि दसैंको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ।” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।
सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो । यो पटक सर्वोच्च अदालतका न्यायाधीश, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव, पशुपक्षी विकास मन्त्रालयका सचिव, मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो ।
जुम्ला स्नोल्याडका होटल व्यवसायी ललितजङ्ग महतले रारा हेर्न आउने पर्यटक जुम्लाबास गरेरै जाने गरेको बताउनुभयो । आगन्तुक पर्यटक बढीभन्दा बढी भित्र्याउन रारा वरिपरिका मुर्मा, झ्यारी, पिना, पुम गाउँ होमस्टेका लागि उपयुक्त रहकेको पर्यटन व्यवसायी बताउँछन् । तथापि गरिबीका कारण त्यहाँका नागरिकले त्यो प्रकारको संरचना निर्माण गर्न नसक्ने भएकाले त्यसमा सरकारले होमस्टे निर्माणमा अनुदान दिनुपर्ने र सञ्चालनको अवधारणाबारे बुझाउनुपर्ने उनीहरुले सुझाएका छन् । रारा पुग्न बर्दिया चिसापानीको गावर भ्यालीमा पाँचवटा होमस्टे निर्माण गरिएका छन् भने सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने पर्यटकीय पदमार्ग बनाउन थालिएको छ ।
विसं २०२० यता उत्तरी चीनसँग जोडिएको नाका मुगुको नाक्चेलाग्ना पुग्ने नेपाल सरकारका पहिलो प्रशासक मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा छन् ।
प्रजिअ शर्माले यो वर्षको भदौ ३० गते मुगुका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र विप्लव माओवादीका प्रतिनिधिसाथ नाक्चेलाग्ना पुगेको बताए। “खासगरी मुगु जिल्लाको अति दुर्गम ‘एक गाउँ, एक गाविस र एक इलाका’का रुपमा परिचित मुगु गाउँमा राज्य छ भन्ने अनुभूति गराउन र बर्सेनि व्यापारी लुटिने घटनालाई न्यून गर्न त्यहाँ पुगेको उनले बताए ।
“६ हजार नौ सय ८६ मिटर उचाइको नाक्चेलाग्ना पुग्नुका साथै ढाइ घन्टा लगाएर चीनको ह्याचिमारा भन्ने ठाउँका चिनियासँग नेपालप्रतिको धाराणा बुझ्ने काम भयो”, उनले थपे । उनका अनुसार नेपालप्रति चिनियाँ सोच सहयोगी र सकारात्मक छ । नाक्चेलाग्ना छोटो र सहज नाका हो, यो मुगुबाट मात्र ८४ किलोमिटर टाढा छ तर बनेको १५÷१६ किमी बाटो भने गाडी हिँड्न लायकको छैन । चाँडोभन्दा चाँडो बाटो निर्माण भइदिए ६ नं प्रदेशको समृद्धिको ढोका खोल्ने उनको भनाइ थियो ।
डिभिजन सडक कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख अङ्गलाल रोकायाले बजेटको अभाव, ठेकेदारको लापरबाही, कार्यालयको रेखदेखमा कमी र प्रक्रियागत ढिलाइका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताए । गत वर्ष सरकारले विनियोजन गरेको रु सात करोड बजेटमा घटेर सत्यसाई निर्माण सेवा डोल्पाले रु तीन करोड २७ लाख ठेक्का लिए पनि काम गर्न नसक्दा त्यो बजेट ‘फ्रिज’ भएको हो । अहिले रु दुई करोड ५० लाखमा काम भइरहेको जनाइएको छ ।
गत वर्ष फागुनमा पूर्वसभासद् नरेश भण्डारी नेतृत्वको एक टोलीले नाक्चेलाग्ना खोल्ने अभियानअन्तर्गत ‘मुगु–गमगढी–नाक्चेलाग्ना सडक निर्माण’ एक छुट्टै परियोजना गठन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
रातोपाटीबाट