
सरकारी नीति अनुसार प्रत्येक क्षेत्रमा अन्तराष्ट्रिय स्तरका एक÷ एक वटा क्षेत्रिय विमानस्थल बनाउने भनिएपनि मध्यपश्चिमान्चल विकास क्षेत्रमा अझै निर्माण हुन सकेन । अनुकुल भूगोल, हावापानीसंगै प्राविधिक अनुकूलताले निकै उत्तम मानिएको दाङमा सरकारले विमानस्थल निर्माण गर्ने प्रकृया अगाडि बढाएपनि परिणाम अझै हात लाग्न सकेको छैन । समग्र मध्यपश्चिमको कृषि पर्यटन आधार मानिने दाङमा अन्तरािष्ट्रय स्तरको विमानस्थल बनाउने सरकारी योजना जिम्मेवारहरुको बेवास्ताकारण कागजमै थन्किएको हो ।
के भन्छ त निजी क्षेत्र ?
प्रारम्भिक सर्वेक्षण पछि हालको त्रिपुर नगरपालिका नारायणपूर बजारको उत्तरखण्डमा विमानस्थल बन्ने पक्का पक्की भएको थियो, गुज्रेखोलादेखि हापूरखोलासम्म विमानस्थल विस्तार हुने भनिएको थियो , तत्कालीन विभागको टोलीले गरेको सर्वेक्षण अनुसार विमानस्थल पाँच किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको रहने प्रतिवेदनमा उल्लेख छ, यद्यपी मुख्य गरि राजनीतिक नेतृत्वको उदाशिनताले नै दाङले विकासको प्रगति गर्न नसकेको आरोप लागिरहेको छ, पर्यटन क्षेत्रको अगुवा निजी क्षेत्रको नेतृत्वले पनि कदम उठाउन नसक्नुले पनि विमानस्थल निर्माणको योजनाले फाइलमै थन्किएको निजी क्षेत्रका अगुवाहरु स्विकार्छन् । राजनीतिक नेतृत्वले बेवास्ता गरेपनि नागरिक तहबाट दबाव हुन नसक्नाले पनि बेलैमा विमानस्थल बन्न नसकेको उनीहरुको ठहर छ ।
घरआँगनमै अन्तराष्ट्रिय स्तरको विमानस्थल बन्ने प्रसंग सेलाउदै जानुमा विशेष गरि राजनीतिक नेतृत्व नै जिम्मेवार छ, यसका साथै निजी क्षेत्र र स्थानीय अगुवाहरुको भूमिका पनि प्रभावकारी हुन नसक्दा कृषि पर्यटन र उर्जाले बैभव मानिने मध्यपश्चिमान्चल विकास क्षेत्रको केन्द्र दाङ ओझेलमा परेको हो । विमानस्थल निर्माण हुन सके प्रादेशिक राजधानीको संभावनासंगै विश्वको आर्थिक तथा पर्यटन बजारमा दाङलाई सिधा जोड्न सकिन्छ ।
आर्थिक सामरिक महत्वले अर्थ राख्ने दाङमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रकृया अगाडि नबढेको त होइन तर जिम्मेवारहरुको हेलचेक्र्याईका कारण विमानस्थल कागजमै थन्किएको छ, विभागमा फाइल बनेर निदाएको छ, फाइललाई अगाडि बढाउने र दबाव दिने कोही नहुँदा विमानस्थलको आयोजना सपनामै कैद भएको छ । मध्यपश्चिमको पर्यटन विकासको गतिलो आधार विमानस्थल निर्माण गराउन विगत पाँच वर्ष यता कसैले सिन्को उठाउन सकेका छैनन, सिन्को पनि नउठ्दा प्रगति हुन सकेन्, पर्यटन क्षेत्रको अगुवा मानिने निजी क्षेत्र पनि विमानस्थलको मुद्दामा खासै सक्रियता नदेखाएको आरोप लागि रहेको बेला दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्क बुढाथोकीले जसरी पोखराले बीस वर्ष लडेर अहिले विमानस्थल निर्माणको आयोजनालाई कार्याान्वयन गर्दैछ आफूहरु पनि त्यसैगरि संघर्ष गरेर विमानस्थल निर्माण गर्न राज्यलाई बाध्य पार्ने बताए, दाङमा विमानस्थल बन्ने कुरा आम मध्यपश्चिमबासीको नैसर्गिक अधिकार भएकोले राज्यले यसबाट खुट्टा उचाल्न नपाउने बुढाथोकीको जोड छ । भौगलिक अनुकुलता, जग्गा प्राप्तीको सहजताले प्रस्तावित आयोजना पुरा गर्न मुआब्जाको ठूलो आर्थिक भार नपर्ने बुढाथोकीले बताउदै विमानस्थल निर्माणको लागि निजी क्षेत्र सदैव तयार भएकोले राज्यले आफ्नो दायित्व पुरा गर्न अब बिलम्व नगर्न सुझाए ।
के भन्छन् त राजनैतिक दलका जिल्ला नेतृत्व ?
यद्यपी यतिबेला तुल्सीपुर टरिगाँउमा विमानस्थल संचालनमा नभएको होइन तर आन्तरिक विमानस्थल र अन्तराष्ट्रिय विमानस्थलको प्रसंग भिन्न हुन्छ, प्रभाकारीरुपले संचालनमा आउन नसकेको टरिगाँउलाई व्यवस्थित हुन नसकेको बेला अन्तराष्ट्रिय स्तरको विमानस्थलको प्रसंग कतिलाई अनौठो पनि लाग्न सक्छ तर राज्यको नीति अनुसार नारायणपुरमा सर्वेक्षण गरिएको अन्तराष्ट्रिय विमानस्थलको मुद्दा भने यतिबेला सेलाउदै गएको छ, सरोकारवालाहरुका चासो नहुन,ु राज्यको नीतिअनुसार कार्यान्वयन पक्ष बलियो हुन नसक्ता विमानस्थलको विषय छाँयामा पदै गएको हो ।
विमानस्थलको विषय सबै भन्दा पहिले कंग्रेसले उठाएको कंग्रेस दाङका सचिव शंकर डाँगीले बताए, दीर्घकालीनरुपले निकै महत्व भएपनि पोखरा र गौतम बुद्ध विमानस्थल निर्माणको प्रसंगले ओझेलमा परेको डाँगीले प्रतिक्रृया दिए । तत्कालीनरुपमा तुल्सीपुरको विमानस्थललाई सुधार गर्दै नारायणपुरमा प्रस्तावित विमानस्थललाई निर्माण गर्न कंग्रेस लागि पर्ने उनले बताए । समय गुज्रीसकेपछि जग्गा प्राप्तीको विषयहरु अलिक जटिल बन्दै जाने भएकोले यसलाई अबिलम्ब कार्यान्वयनको प्रकृयामा लैजान जरुरी भएको उनको कथन छ ।
दलहरु झिनामसिना विवादमा अल्झिरहेको आरोप लागि रहेकोबेला जिल्लाको विकास आयोजनाहरु पुरा गर्न दलीय सहकार्य र एकताको विकल्प नभएको नेकपा एमाले दाङ अध्यक्ष टिकाराम खड्काले बताएका छन् , दाङमा महानगरपालिकाको प्रस्ताव आफूले राखेको बताउदै त्यही अनुसारको पूर्वाधारहरु विमानस्थल निर्माण, सडक स्तरउन्नतीको लगायतका मुद्दामा एमाले कहिल्यै पछि नपर्ने प्रतिक्रृया दिए । प्रारम्भिक सर्वेक्षण भएको नारायणपुरमा विमानस्थल निर्माणको सरकारी योजनालाई पुरा गर्न सबै दललाई विकास गर्नेमा प्रतिस्पर्धा होइन साझा धारणा बनाउन आह्वान गरेको उनको जिकिर छ, अहिलेसम्मको प्रगतिको सवल र दुर्वल पक्षको समिक्षा गर्दै आगामी दिनमा विमानस्थल लगायतका विषयमा दलहरुबीचको सहकार्य एकता निर्माण गर्न एमाले तयार भएको उनले प्रतिक्रृया दिए ।
आभेलमा परेको विषयलाई व्यवहारमा लागु गर्न राजनीतिक नेतृत्वकै जिम्मेवारी हो, विमानस्थल निर्माण प्रक्रृयामा दलीय उदाशिनता भएको प्रश्न उठीरहेको बेला माओवादी केन्द्र दाङको सह–इन्चार्ज निर्मल आचार्यले आफूहरुले जिल्लाका १५ वटा महत्वपूर्ण एजेण्डा कार्यान्वयन गर्न लागि परेको बताए, मुख्य गरि राष्ट्रिय गौरवको रुपमा रहेको नारायणपुरमा प्रस्तावित विमानस्थल, तुल्सीपुरमा प्रदेशस्तरीय डिपोको मुद्दालाई गम्भिरतासाथ लिएकोले छिट्टै प्रगति हुने प्रतिक्रृया दिए । विगतमा विमानस्थल लगायतका मुद्दा सुस्ताएपनि अब कार्यान्वयन चरणमा लैजान माओवादी लागि परेको बताए, यसको साथै सडक स्तरोन्नती, क्रिकेट खेल मैदान र जलभण्डारका विषयलाई समेत प्राथमिकरण गरिएकोले आगामी दिनमा समग्र जिल्लाबासी र दलहरुको सहकार्यबाट महत्वपूर्ण आयोजनाहरु पुरा हुने आचार्यले दावी गरे ।
हो दाङमा संचालित टरिगाँउ विमानस्थलको स्तरउन्नतीसंगै दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनु आवस्यक छ, राज्यको नीति अनुसार मध्यपश्चिमको दाङमा बनाउने प्रसंग न्योचित छ, त्यसका लागि राज्यले पनि प्रारम्भिक सर्वेक्षण समेत गरेको बेला कार्यान्वयन हुन ढीला गर्नु किमार्थ न्यायसंगत हुदैन तसर्थ सबै क्षेत्र र तप्काको पहलमा दाङमा अन्तराष्ट्रिय विमान स्थल निर्माणको योजना अबिलम्ब कार्यान्वयन गर्न मुख्य गरि राजनीतिक नेतृत्व तयार हुनु पर्ने आम नागरिकको माग छ । कृषि पर्यटन र उर्जाले बैभव मध्यपश्चिमको आधार क्षेत्र दाङमा महत्वपूर्ण पूर्वाधार निर्माण गरि नागरिकको विकासको चाहानालाई पुरा गर्न अब जिम्मेवारहरुले खुट्टा नकमाउन नागरिकको आग्रह छ ।