काठमाडौं २० कार्तिक । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।
समितिका संयोजक सहसचिव डा डिल्लीराम रिमालले तीनवटै निकायको सङ्गठन तथा व्यवस्थापन सर्भे कार्य सम्पन्न गरेर प्रतिवेदन तयार गरिएको बताए ।
बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरुपमा परीक्षा सञ्चालन गर्नेछ । संशोधित शिक्षा ऐन गत असार १५ बाट लागू भएको थियो । रासस