रामपुर / पाल्पा । कालीगण्डकी नदीको किनारमा अवस्थित बालिघाट क्षेत्रलाई धार्मिक एवम् पर्यटकीयस्थलका रुपमा विकास गरिएको छ ।
स्थानीयवासीको पहलमा सरकारी एवम् गैरसरकारी सङ्घ संस्था र स्थानीयको सहयोगमा बनेको शिवालय मन्दिर, बाल उद्यान, दरै संस्कृतिमा आधारित घुमाउने घर, पिकनिक स्थल, प्रतिक्षालय, हरियाली आँपको बगैँचा, बालुवामा खेलिने भलिबल कोर्ट, हरियाली घाँसेमैदानसहितको जङ्गल, संस्थाको कार्यालय निर्माण गरिएपछि यस ठाउँको सुन्दरतालाई अझ मनमोहक पारेको स्थानीय वीरबहादुर विसीले बताए ।
बालिघाट क्षेत्रमा रहेको शिवालय मन्दिरमा पूजापाठ गर्न र वनभोजका लागि आउनेको सहभागिता बढ्दो छ । कालिनदीको चिसो, शान्त, मनोरम दृश्यसँगै मनै लोभ्याउने खालको बालिघाट क्षेत्रमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानका विद्यालय, सङ्घसंस्था, व्यक्ति अवलोकन गर्न र पिकनिकका लागि आउने गर्दछन् ।
वाल्मिकी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको धार्मिक किम्वदन्ती रहेको बालिघाटमा शनिबार पिकनिक आउनेको चहलपहल हुने गरेको बालिघाट संरक्षण समितिका अध्यक्ष भानुभक्त ओझाले बताए ।
कालिगण्डकी नदीबेँसीमा रहेका यस्ता धार्मिक तथा साँस्कृतिक स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्नसके थप गाउँको विकासमा टेवा पुग्ने थियो । बालिघाट जस्तै थुप्रै धार्मिक, ऐतिहासिक, मनोरम क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा व्यापार व्यवसाय फस्टाउने थियो ।
टुरिज्म न्युजबाट