इन्द्रेणी संवाददाता
दाङ, १२ असोज । दाङको पर्यटन प्रवद्र्धन र विकासका लागि चालु आर्थिक वर्षमा पौने २ करोड बजेट छुट्टयाइएको छ । चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्लाको समग्र पर्यटन विकास तथा प्रवद्र्धनात्मक कार्यका लागि एक करोड ७२ लाख बजेट विनियोजन गरिएको जिल्ला विकास समिति दाङअन्तर्गतको पर्यटन समितिका सदस्य सचिव गोविन्द आचार्यले जानकारी दिए ।

दाङको पर्यटन विकासका लागि वर्षेनी करोडौ बजेट विनियोजन भएपनि त्यो बजेटबाट खासै उपलव्धीमूलक काम नभएको सरोकारवालाहरु बताउछन् । पर्यटन विकासका लागि विनियोजन भएको बजेट केही सिमति व्यक्तिहरुको हालिमु्हालीमा परिचालन हुने र बजेट घुमफिरमै खर्चने गरेको उनीहरुको बताएका छन् । ‘हरेक वर्ष करोडौं बजेट पर्यटनको क्षेत्रमा आउछ तर, त्यो बजेट केही सिमीत व्यक्तिहरुले कहाँ खर्च गर्छन त्यो थाहा हुदैन’ एक जना सरोकारवालाले नाम नबताउने सर्तमा भने, ‘पर्यटनको नाममा केही व्यक्ति घुमफिर गर्नेमै त्यो बजेट खर्च हुन्छ ।’