
ऐतिहासिक, राजनीतिक, प्राकृतिक, सांस्कृतिक महत्वले समृद्ध रोल्पा ग्रामीण पर्यटनको गतिलो गन्तव्य भएको पर्यटन सम्बद्धहरु बताँउछन्, विशेष गरि राजनीति आन्दोलनको केन्द्र रोल्पा युद्ध पर्यटनको आधार भएको उनीहरुको मत छ,द्वन्द्वकालीन समयमा तत्कालीन माओवादी तथा तत्कालीन सरकारद्वारा निर्माण भएका या ध्वंस भएका मूर्त या अमूर्त सम्पदाहरुको संरक्षण सम्वद्र्धन गर्न सके युद्ध पर्यटनको बजारीकरणबाट ग्रामीण पर्यटनको विकास गर्न सकिने उनीहरुको ठम्याई छ, युद्ध सम्पदाहरुको संरक्षण गर्न ढीला भैरहेको बेला सरकारले ग्रामीण पर्यटन विकास गर्न भन्दै भर्खरै जनयुद्धको संग्रालय बनाउने घोषणा गरेको छ, सरकारी घोषणाले युद्ध पर्यटनको उत्कृष्ट गन्तव्य रोल्पाको ग्रामीण पर्यटन विकासमा ठूलो योगदान पुग्ने दावी गरिएको छ ।
द्वन्द्वको बेला सबै भन्दा बढी बलिदान भएको शान्तिगाँउ जेलबाङ र ऐतिहासिक गाँउ थबाङ विशेष महत्व राख्ने गर्दछन्,यद्यपी युद्धकालमा रोल्पा नै पुरै युद्धबाट प्रभावित भएको हो, मानवीय क्षतिदेखि भौतिक पूर्वाधार क्षती र निर्माण, युद्धमोर्चा स्थल, र शान्तिकालीन समयमा संचालित क्यान्टोन्टेमेन्ट युद्ध सम्पदाहरु हुन् । शान्ति प्रकृया अन्तिम टुँगोमा पुग्दैछ, शान्ति प्रकृया शुरु भएको दश वर्ष भैसकेको भएपनि सम्पदाहरुको संरक्षणमा सरकारी ध्यान पुग्न सकेन, जसका अलावा सम्पदाहरु हराउने गरेको विकास सम्वद्धहरुको प्रतिक्रृया छ,युद्धको सकारात्मक र नकारात्मक पक्ष पनि भन्दा कुनै कालखण्डको ऐतिहासिक सन्दर्भको संरक्षण गर्न राज्यले ढीला गरेको सामाजिक अभियन्ता शोभाराम डाँगीले बताए
एक ऐतिहासिक कालखण्डमा भएको राजनीतिक विद्रोहको मूर्त या अमूर्त दस्तावेजहरुको संग्रह गर्न जनयुद्ध संग्रालय एक भरपर्दाे माध्यम बन्न सक्छ, पर्यटनको विश्व बजारमा युद्ध सम्पदाहरु गतिला माध्यम भएको दुनियाँलाई थाहा छ, तेही कुरालाई मनन् गरि प्रचण्ड सरकारले रोल्पामा युद्ध पर्यटनलाई प्रर्वद्धन गर्न जनयुद्ध संग्रालय बनाउने अनि गुरिल्लापदमार्गलाई प्रवद्र्धन गर्न बचन अगाडि सारेको छ,यद्यपी सरकारी घोषणाको पूर्ण कार्यान्वयन हुन्छ या हुदैन यो प्रश्नको उत्तर भावी देला तर ग्रामीणको विकासको आधार युद्ध पर्यटनलाई अन्य आयामसंगै जोडेर विकास गर्न सकिए रोल्पाका दुर्गम स्थानमा पर्यटन विकास गर्न सकिने मात्र होइन स्थानीय उत्पादनदेखि मौलिक कला संस्कृतिको प्रवद्र्धन गरि पर्यटनबाट स्थानीयको जीवन सुधार गर्न सकिनेमा कुनै दुइमत छैन ।
जनयुद्ध संग्रालय बनाउने सरकारी कदम उचित भएपनि ढीला हुनुले युद्धसंग सम्वद्ध सम्पदाहरुको जर्गेना हुन नसकेको डाँगीको विचार छ, यद्यपी सरकारी प्रयत्नलाई सार्थक बनाउन युद्ध सम्वद्ध सम्पदाहरुको खोजी अनुसन्धान तथा अध्यावधिक गरि संग्रालय योजना साकार पार्न सुझाए,रोल्पा आफै जनयुद्धको केन्द्र विन्दु भएकोले संग्राहलय कहाँ बन्नेभन्दा पनि विशिष्ट क्षेत्रहरुको पहिचान गरि कार्यान्वयनमा छिटो लैजानु पर्ने डाँगीले मत राखे ।
विशेष गरि युद्धका समयमा सर्वाधिक चर्चामा रहेका जलजला, होलेरी, शान्तिगाँउ जेलबाङ, शहिदगाँउ मिरुल,गाम, ऐतिहासिक गाँउ थबाङ, सुकिद, लिस्नेलेक, पाटे गुम्चाल, भावाङ, शहिदमार्ग, जनवादी विद्यालय, सहकारी, अजम्बरी जनकम्युन, जनमुक्ति सेनाका सैन्य क्याम्प, मनिमारे र लाबाङ लगायत स्थान युद्ध पर्यटनका गन्तव्य बन्न सक्ने उनीहरुको धारणा छ । कुनै पनि ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सरकारले राष्ट्रिय संरक्षण नीति २०६७ कार्यान्वयनमा ल्याएको छ, तर जनयुद्धसंग जोडिएका ऐतिहासिक संपदाहरुको संरक्षणमा सरकारी उदाशिनताले ऐतिहासिक संपदाहरु ओझेलमा परेका छन् ।
जनयुद्ध नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण ऐतिहासिक आधार भएकोले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्नमा संग्रालय बलियो आधार हो, ऐतिहासिक गाँउ थबाङ, धेरै बलिादानी भएको गाँउ जेलबाङ, युद्ध स्थल गाम, लिस्ने, शाहिदगाँउ मिरुल, पहिलो आक्रमण भएको होलेरी जस्ता महत्वपूर्ण गाँउलाई जोडेर नयाँ रुट बनाउन सके युद्ध पर्यटनबाट ग्रामीण जीवनमा सुधार ल्याउन सकिन्छ केसीले भने । संग्रालय कहाँ र कसरी बन्ने भन्ने कुरा अहिले नै निक्र्याेल नभएपनि ऐतिहासिक सम्पदाहरुको जर्गेना गर्न संग्रालय आवस्यक छ उनले भने ।
उत्तरका हिमशिखरका आधार क्षेत्रमा रहेका दर्जनौ मगर बस्तीमा सांस्कृतिक अवलोकन अध्ययन गर्न सकिने संभावनालाई समेत मनन् गरि गुरिल्लामार्ग अवधारणा आएको हो,२७ दिन लामो पदमार्गमा धेरै विदेशी पाहुनाहरुले भ्रमण गरिसकेका छन्, यद्यपी कति पर्यटकले भ्रमण गर्दछन् भन्ने आधिकारीक तथ्याँक भने कसैले राखेको छैन । पदमार्गले ऐतिहासिक गाँउ थबाङ, जलजला पाटन क्षेत्र, धबाङ,शान्तिगाँउ जेलबाङ जैमकसला र मिझिङ गाविससम्म जोडिएको छ ।
अमेरिकन विज्ञ एलेन्जो लियनसको खोजमुलक लेखन तथा हिमालयन म्यापहाउसको प्रकाशमा द गुरिल्ला ट्रेक नामक पुस्तक समेत बाहिर आएको छ । धवलागिरी हिमश्रंखलाका पश्चिम क्षेत्रको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्न र नयाँ गन्तव्यको रुपमा स्थापित गर्न गुरिल्लामार्ग एक भरपर्दाे आयाम हो । विशेषगरि ट्रेकिङ गर्न चाहाने पर्यटकका लागि अन्नपूर्ण पछि नयाँ वैकल्पिक पदमार्गको रुपमा रहेको बताइएको छ । सरकारले गुरिल्लापदमार्गको थप प्रवद्र्धन गर्न लगानी गर्ने भएको छ, भर्खरै प्रचण्ड सरकारले जनयुद्ध संग्रालयको निर्माण र पदमार्गको प्रवद्र्धन गर्न लगानी बढाउने घोषणा गरेको छ ।
यसै गरि सुलिचौरदेखि शान्तिगाँउ जेलबाङ अथवा सेरमको फूलीवन उवाहुदै ऐतिहासिक थबाङ पनि भ्रमण गर्ने गरिन्छ, यसैगरि जनश्रमादानबाट निर्माण कार्य थालिएको शहिदमार्ग युद्ध पर्यटनको गतिलो आधार हो, घोराहीदेखि ऐतिहासिक गाँउ थबाङसम्मको मार्गको ऐतिहासिक तथा राजनैतिक अर्थ छ । जनताको पसिनाबाट आरम्भ थालिएको शहिदमार्ग हाल स्तरीकरणसंगै ट्रयाक खोल्ने काम करिब करिब सकिएको शहिदमार्ग डिभिजनले बताएको छ, सडकको स्तरीकरण गर्ने कार्य पनि शुरु भएको छ, यद्यपी स्तरीकरणको कार्य ढीला हुने गरेको स्थानीयले बताएका छन्, एक सय ३६ किलोमिटर लामो शहिदमार्ग होलेरी, घर्तीगाँउ मिरुल हुदै थबाङ पुग्दछ , मिरुल र थबाङ जलजलाका आधार क्षेत्र हुन् ।
पर्या, सांस्कृतिक र धार्मिक पर्यटन
पर्यटनको उत्कृष्ट गन्तव्य जलजला, ऐतिहासिक राजनैतिकसंगै पर्या पर्यटनको वैभवले समृद्ध मानिने जलजला युद्ध पर्यटनको मात्र होइन पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । रेडपाण्डा जस्तो दुर्लभ वन्यजन्तु बासस्थान जलजला प्राकृतिक र जैविक विविधताले समेत मनोरम र वैभव छ । विभिन्नखाले जडिबुटी, जंगली जनावर दर्जनौ प्रजातिका गुराँश, बुकी पाटनले ठाँटिने जलजला ऋतुअनुसार भिन्न पहिरनमा सजिने गर्दछ, हिउँदमा सेताम्मै, बसन्तमा गुराँशमय, शरदमा बुकीफूलले रंगिविरङ्गी हुने गर्दछ, जो प्रकृतिमा रमाउनेका लागि स्वर्ग नै हो ।
जलजलाको आसपासका क्षेत्र मगर सघनबस्ती क्षेत्र हो,किङडम अफ मगर कल्चरको रुपमा परिचित यस क्षेत्र सांस्कृतिक पर्यटनले निकै समृद्ध छ, मगर सांस्कृति मौलिक कला सीप, जीवन प्राणाली, आदिम इतिहास, प्रकृति र मगर समुदाय, खेतीपाती र सामाजिक सम्बन्ध इत्यादी पाहुनका आकर्षण हुन् । त्यसैगरि रुन्टी जस्ता प्रभु महाराजको जन्मस्थान धार्मिक पर्यटनको लागि निकै उत्कृष्ट मानिन्छ, मिनि लुम्बिनीको हैसियत राख्ने रुन्टीमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटनलाई पुराउन सकिन्छ,यससैगै रुन्टी क्षेत्र गढीलेक जस्ता ऐतिहासिक किल्लाको क्षेत्र हुन्, ऐतिहासिक महत्व राख्ने गढी लेक आसपासको क्षेत्र कृषी पर्यटनमा उत्तिकै अब्ब्ल छ, यद्यपी कृषी पर्यटनको व्यवसायीकरण गर्न सकिएको छैन, कृषिको विकास गर्ने जिम्मा लिएका जिम्मेवारहरुको कानमा बतास चलेको छैन ।