Indrenionline.com

दाङ : गेटवे अफ टुरिजम

Dhaniram sharmaधनिराम शर्मा (ऋतुविचार)
दाङ पर्यटन  प्रवेशद्वार (Gate way of Tourism ) को गतिलो आधार भएपनि योजनाविहिन लगानीका कारण पर्यटन क्षेत्रमा विकास हुन सकेको छैन, किङडम अफ थारु कल्चरको राजक्षेत्र मानिने दाङ देउखुरी ऐतिहासिक तथा धार्मिक पर्यटनको गन्तव्य पनि हो, सरकारी उदाशिनता निजी क्षेत्रको निस्कृयताका कारण पर्यटकीय प्रवेशद्वार दाङले पर्यटनमा   व्यवसायीकरण गर्न सकेको छैन  ।

दाङ र देउखुरी उपत्यका कृषी पर्यटनको हब बन्ने संभावना छ, कृषी पर्यटन देखि सांस्कृतिक पर्यटनमा दाङ अब्बल बन्न सक्ने संभावना भएपनि दशकौको योजनाविहीन लगानीले परिणाम दिन नसकेको पर्यटन सम्बद्धहरुको प्रतिक्रृया छ । समुद्री सतहबाट २ सय १३ मीटर देखि २ हजार ५८ मीटर अग्लो भौगलिक विविधता भएको दाङ विद्यमान राप्तीको प्रवेशद्वार हो । गेट वे अफ टुरिज्मको प्रवल संभावना भएको दाङको पूर्वाधारमा खासै प्रगति हुन सकेको छैन ।  विशेष गरि थारु संस्कृतिले समृद्ध मानिने दाङ थारु संस्कृतिको प्रवद्र्धनबाट ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न सकिन्छ ।

यद्यपी सरकारी उदाशिनताका कारण दाङको पर्यटन विकासमा प्रगति हुन नसकेको निजी क्षेत्रको प्रतिक्रृया छ   । सरकारी निकाय जिविसको उदाशिनताका कारण प्याराग्लाइडिङ समेत संचालनमा आउन नसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुषालले बताए । प्याराग्लाइडिङको प्रसंग त एउटा नमुना मात्र हो अन्य विषयमा पनि सरकारी उदाशिनता उत्तिकै छ,सरकारी निकायले सही ढंगले सोच्ने र गर्नै हो भने दाङलाई पर्यटकीय प्रवेशद्वारको रुपमा विकास गर्न सकिन्छ भुषालले भने । निजी क्षेत्रले पछिल्लो समयमा दाङमा अन्तराष्ट्रिय विमानस्थल निर्माणको मुद्दालाई पनि उठाउदै छ, अन्तराष्टिय विमानस्थल बन्न सके दाङ मात्र होइन समग्र राप्ती क्षेत्रको पर्यटन विकासमा कायापलट हुन सक्ने भुषालले दावी गरे तर सरकारी निकाय र राजनीतिक दलको सहयोगको खाँचो छ  उनले भने ।

साढे पाँच लाख बढी जनसंख्या भएको दाङ पश्चिम नेपालका उत्कृष्ट नगरहरुको जिल्ला पनि हो, घोराही नगर देशकै उत्कृष्ट नगरपालिकामा पर्दछ, नगरलाई नमुना बनाउन हरित नगरको अभियान संचालनमा छन् पर्याबरणमैत्री नगरको विषय निकै तेजबोध भएको छ, यतिबेला नगर प्राकृतिक तालको संरक्षण तथा कृतिम तालहरुको निर्माण अभियानमा छ । तुल्सीपुर, लमही भालुबाङ उत्कृष्ट नगर बन्ने होडमा छन् तर समग्र जिल्लाको एकिकृत योजना नहँुदा राप्तीको पर्यटकीय प्रवेशद्वार दाङ देउखुरी  पर्यटन विकासको श्रृंखलामा भने निकै पछाडि छ ।

विद्यमान राप्तीको प्रशासनिक, राजनीतिक तथा आर्थिक सामरिक महत्वको रुपमा लिइने दाङ देउखुरी भारतसंगको सीमा जोडिएकोले भारतीय पर्यटकको लागि उत्तम मानिन्छ । यतिमात्र होइन भारतीय भूमिहुदै नेपाल प्रवेश गर्ने पर्यटकको पनि प्रवेशद्वार हो दाङ ।  राप्तीको उपल्लो खण्डमा महाभारत र हिमाली क्षेत्र पर्यटनका गतिला गन्तव्य हुन्। दाङमा पर्यटनका पूर्वाधारको गतिलो विकास हुन सके रोल्पा, रुकुम, सल्यान, प्यूठान मात्र होइन रारा, शे फोक्सान्डो तालसंगै अपर डोल्पोसम्म पर्यटन पुराउन सकिने विज्ञहरु बताँउछन् ।  ढोरपाटन शिकार आरक्ष, जलजला पाटन क्षेत्र जस्ता प्रकृतिका अदभूत सुन्दर गन्तव्य पर्यटनका आकर्षण हुन् । त्यसै गरि रुन्टी पाण्डवेश्वरधाम, स्वर्गद्वारी लगायतका धार्मिक क्षेत्र पनि पर्यटनका गतिला सम्पदा हुन् ।

दाङमा अन्तराष्टिय विमानस्थल निर्माण गरि धवलागिरीको पश्चिम र सिस्नेको पूर्व क्षेत्रको गुरिल्ला पदमार्ग, हिमदृष्य, पाटन क्षेत्र, यार्शा ट्रेल र मगर संस्कृतिको अध्ययन अवलोकन गराउन सके राप्ती पर्यटनको व्यवसायीकरणमा अब्बल हुने हिमआरोही  मानबहादुर खत्रीले बताए । हावापानीको हिसाबले दाङ निकै उत्तम भएकोले अन्तरािष्टय विमानस्थलको निर्माण गर्न सकिने संभावना छ उनले भने । तर जिम्मेवारहरुले गम्भीरतासाथ लिन सके दाङ  पर्यटनको प्रवेशद्वार बन्न सक्ने खत्रीको तर्क छ ।

दश वर्ष यता जिल्ला विकास समिति दाङ मार्फत करिब ६ करोड बढी लगानी भएको अनुमानित तथ्याँक छ, निजी क्षेत्रको लगानी कम्तीमा ६ अर्व बढी भएपनि दाङको पर्यटन व्यवसायीकरण हुन सकेको छैन, लगानी र पर्यटनलाई व्यवसायीकरण गर्ने अभ्यास धेरै भएपनि व्यवसायीक हुन नसेकोले दीगो र एकिकृत योजना आवस्यक भएको योजनाकारहरु बताँउछन् । यद्यपी जिल्ला विकास समिति दाङको नेतृत्वमा राप्ती अंचल स्तरीय पर्यटन समिति गठन भएको छ, राप्तीलाई पर्यटनको हव बनाउने लक्ष्य भएपनि योजनाविहीन हुँदा लगानी र प्रयत्नको परिणाम प्राय शुन्य जस्तै छ । गठन भएको करिब दुइ वर्ष यता समितिको काम खासै सन्तोषजनक छैन भने आपसी विवाद हुँदा योजना बन्ने र लगानीको विषय पनि विवाद आउने गरेको छ ।

यति मात्र होइन दाङको ग्रामीण पर्यटन प्रवद्र्धन गर्न भन्दै थारु ग्राम, मगरग्राम र अवधिग्रामको अवधारणले समेत फेल खाइसकेका छन् ।  नमुना ग्राम बनाउने सरकारी योजनाले हावा खाएपछि ग्रामहरुको अस्तित्व समेत संकटमा परेको छ ।  सरकारी उदेश्य निकै उत्तम भएपनि एकिकृत योजना नहँुदा नमुनाग्रामहरु संकटमा पर्दै गएको निजी क्षेत्रको गुनासो छ ।

पूर्वमा पश्चिम धवलागिरीदेखि सिस्नेको बीच खण्डमा अवस्थित राप्ती पृथक पहिचान भएको क्षेत्र हो । यार्शाको उत्कृष्ट गन्तव्य, युद्ध पर्यटनको केन्द्र, किङडम अफ मगर कल्चर किङडम अफ थारु कल्चरको राज क्षेत्र हो, मिनी लुम्बिनी रुन्टीदेखि मिनी बोधगयाको परिचय दिन सक्ने  स्वर्गद्धारीले राप्ती निकै वैभव छ, राप्तीको केन्द्र दाङलाई आधार क्षेत्र मानेर वृहत योजना बन्न सके राप्तीमा पर्यटनको प्रर्वद्र्धन हुन सक्ने विज्ञहरुको तर्क छ , पर्यटन प्रवेशद्वारको रुपमा दाङलाई बनाउन निजी क्षेत्रको पहलमा सरकारले योजना बनाउनु आवस्यक भएको विज्ञहरुको धारणा छ ।

यद्यपी निजी क्षेत्रले पर्यटन उद्योगमा लगानी गर्न र पहल लिन नसक्ता पर्यटन विकासमा प्रगति हुन नसकेका सरकारी निकायको आरोप छ । उता दाङ देउखुरी होटेल व्यवसायी समितिको पनि सरकारी उदाशिनताप्रति गुनासो छ, निजी क्षेत्रबाट राप्तीको पर्यटन सूचना केन्द्र स्थापना गरेपनि सरकारी निकायले नै तुहाएको दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए, सरकारले नै पर्यटन प्रवद्र्धनमा अवरोध गरेको उनको प्रतिक्रृया छ ।

 विद्यमान राप्ती सडक संजालले जोडिएको छ, दाङलाई जिरो केन्द्र मान्दा राप्तीका पहाडी जिल्लाहरुमा ड्राइभटुुुरको माध्यमबाट करिब ५ घण्टामा प्रत्येक जिल्ला सदरमुकाम पुग्न सकिन्छ, राप्तीमा ३ हजार किलोमिटर सडक संजाल बिस्तार भएको अनुमानित तथ्याँक छ, यति मात्र होइन देशको आर्थिक सामरिक महत्वको राष्टिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग करिब ५ घण्टाको यात्रामा भेटाउन सकिन्छ । सडक सन्जालले जोडिएको राप्ती पर्यटकीय चक्रपथ बन्न सक्छ, यद्यपी वृहत योजनाका साथ सरकारी तथा निजी क्षेत्रको सहकार्यमा काम हुन सके आझेलमा परेको राप्ती नयाँ गन्त्व्यको रुपमा स्थापित हुनेमा कुनै दुइमत छैन भने दाङ पर्यटन प्रवेशद्वारको रुपमा विकास हुन सक्ने विकासविदहरुको धारणा छ । राप्ती क्षेत्र पर्यटनको संभावनालाई व्यवसायीकरण गर्न  दीगो योजनासहित पूर्वाधारमा ध्यान दिन सके दाङ पर्यटनको प्रवेशद्वार बन्न सक्ने पर्यटन विद प्राध्यापक प्रेम शर्माले बताए । राप्ती अन्य भन्दा पृथक परिचय भएको क्षेत्र भएकोले यसको बजारीकरण गर्नमा सबैको पहल हुन सके नगर तथा ग्रामीण पर्यटनबाट उल्लेख्य प्रगति हुन सक्ने प्राध्यापक शर्माको कथन छ ।

यद्यपी पर्यटन प्रवद्र्धन गर्न जिम्मेवारहरुको कानमा बतास नचल्दा राप्ती कस्तुरी जस्तै बासना खोजिरहेछ ।  जलजला जस्ता पाटन क्षेत्र ढोरपाटन जस्तो हन्टिङ एरिया पर्यटनका लागि निकै अब्बल मान्छिन् । संस्कृत विश्व विद्यालय जस्तो वेद हिन्दु सभ्यताको संकेन्द्र नेपालको एक मात्र धरोहर हो । यति मात्र होइन माओवादी विद्रोहको लाल आधार क्षेत्र     पनि राप्ती नै हो , कृषी पर्यटनमा निकै अब्बल मानिने सल्यान र दाङ उर्वर फाँटहरु आफैमा सुन्दर र वैभव छन् तर हाम्रो योजना र नियती भने भिन्नै छ ।