Indrenionline.com

देशभरका शैक्षिक संस्था ठप्प हुदा  ७५ लाख बिद्यार्थी प्रभाबित

studentकाठमडौ ३२ साउन । अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरू सोमबार पढ्न जान पाएनन् ।

अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो– शैक्षिक हडतालका कारण आज स्कुल बन्द रहनेछ ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल ९क्रान्तिकारी० ले देशभरका शैक्षिक संस्था ठप्प पार्दा ७५ लाखभन्दा बढी विद्यार्थी स्कुल जान वञ्चित भए ।

आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्तो पाए न अभिभावकलाई नै यसको कारणबारे त्यति थाहा भयो । बन्दबारे सोध्दा अधिकांश विद्यालय सञ्चालकले भने, ‘कुन संगठनले किन बन्द गरेको भन्ने औपचारिक जानकारी नै नभई हल्लाकै भरमा बन्द गर्नुपर्‍यो ।’ क्रान्तिकारीका कार्यकर्ताले सोमबार राजधानीका केही विद्यालयमा तोडफोडसमेत गरेको उनीहरूले बताए ।

‘केही दिनअघि रातो टिसर्ट लगाएका युवकहरूले क्रान्तिकारी हौं भन्दै ११ र १२ को कक्षामा छिरेर भाषण गरेका थिए,’ राजधानीस्थित एक विद्यालयका शिक्षकले भने, ‘उनीहरूले दुई–चार दिनपछि चन्दा लिन आउँछौं, चार–पाँच लाख रुपैयाँ ठिक गर्नू भनेका छन् ।’ चन्दा माग्नकै लागि विद्यालय बन्द गरिएको उपत्यकाका अधिकांश निजी विद्यालयका सञ्चालकहरूको भनाइ छ ।

उच्च माध्यमिक विद्यालय संघवरिष्ठ उपाध्यक्ष युवराज शर्माले कसले केका लागि शैक्षिक हडताल गरेको भन्नेबारे थाहै नपाएको बताए । ‘बन्द भन्ने हल्ला चल्यो, बन्द गरायौं,’ टाउकोमा रातो फिता लगाएर छापामार शैलीमा शिक्षण संस्थाभित्र प्रवेश गर्नेहरू देखा परेको उल्लेख गर्दै शर्माले भने, ‘हामीलाई कुनै संगठनले आधिकारिक पत्र काटेका छैनन् । तर आतंकित तुल्याउने व्यवहार भएको छ । अभिभावक र विद्यार्थी त्रसित छन् ।’ अधिकांश स्कुलले मंगलबार पनि विद्यार्थी नपठाउन अभिभावकहरूलाई खबर गरिसकेका छन् ।