Indrenionline.com

नेपालमा हातिको संख्या बढदो क्रममा

elephantकाठमाडौँ, २८ साउन । संसारभरि हात्तीको सङ्ख्या घट्दो दरमा भए पनि नेपालमा भने  पछिल्ला केही वर्षयता हात्तीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।   नेपालमा दुई दशकअघि मुस्किलले ३० देखि ४० वटा हात्ती रहेको अनुमान गरिएको थियो भने हाल जङ्गली हात्तीको सङ्ख्या मात्र नेपालमा कम्तीमा १७५ पुगेको बताइन्छ ।  घर पालुवा हात्तीको सङ्ख्या २१४ भन्दा बढी रहेको छ ।

नेपालका हात्तीबारे विद्यावारिधि गर्नुभएका डा। बाबुराम यादवका अनुसार विसं २०४७ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा तीन वटा हात्ती देखिएका थिए, हाल त्यस क्षेत्रमा ३० देखि ४० वटा हात्ती देखिन थालेका छन् ।  केही वर्षपहिले कहिलेकाहीँ भारतको दुधुवा नेसनल पार्कबाट विचरण गर्न आएका हात्ती मौसमी रूपमा देखिने गरेका शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि हाल कम्तीमा २०–२२ वटा हात्ती बाहै्रमास देखिन थालेका छन् ।

नेपालमा झापा र उदयपुरको त्रियुगासम्मको क्षेत्र, पर्सादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको क्षेत्र, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र र शुक्लाफाँटा क्षेत्रमा विभाजन गरेर अध्ययन गरिएको पाइन्छ ।  हात्ती विशेषज्ञ डा। यादवले भन्नुभयो, पर्सा वन्यजन्तु आरक्ष हात्तीले सबैभन्दा बढी समय विचरण गर्ने स्थान हो भने पछिल्लो समयमा बासस्थान सुधार भएकोले हात्तीको सङ्ख्या बढ्न सक्ने क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज देखिएका छन् ।

सबैभन्दा बढी हात्ती भएको क्षेत्र चितवन हो ।  यहाँ जङ्गली हात्ती मात्र होइन, व्यावसायिक रूपमा प्रयोग गर्न घरपालुवा हात्ती पनि धेरै छन् ।