Indrenionline.com

जाजरकोटमा भट्मासको जातिय छनौट परिक्षण

दीपबहादुर घर्ती
जाजरकोट, २६ साउन ।
जिल्ला कृषि विकास कार्यालयले जाजरकोटमा स्थानिय भट्मासको जातिय छनौंट परिक्षण गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले कृषक समुहहरुको सहभागितामा भट्मासको जातिय छनौंट परिक्षण गरिरहेको हो । राष्ट्रिय विऊ विजन गुणस्तर केन्द्रमा जाजरकोटमा पाईने स्थानिय कालो भट्टमासको जात दर्ता गराउने उदेश्यले कृषि विकास कार्यालयले जिल्लामा सहभागितात्मक भट्टमासको जातिय छनौंट परिक्षण गरिरहेको किसान प्रचार प्रसार अधिकृत मुकेश रामजालीले वताए ।jkt

जिल्लामा पाईने स्थानिय कालो भट्टमासको जातिय छनौट परिक्षण गर्नका लागि नार्क अन्तरगत कोशेवाली अनुसन्धान केन्द्रवाट आई.आर.एस. ८७–१, ए.फ. ७७८८१७, पि.क.े ३२७, पि.के. ७३९४, एल.एस. ७७–१६, आई.ए.एन. जि.डि..ई.ए.के.ओ.एन.जि., पुजा जात गरि सात थरीको भट्टमास र स्थानिय कालो भट्टमास गरि जम्मा ८ जातको भट्टमासको जातिय छनौंट परिक्षणका लागी जिल्लामा भट्टमासको खेती गरिएको अधिकृत रामजालीले वताए ।

भट्टमासको जातिय छनौंट परिक्षण जिल्ला सदरमुकाम खलंगा नजिकै रहेको वोहरा र कालेगाउँमा खेती गरिएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । उक्त भट्टमासको जातिय छनौंट परिक्षणमा वोहराममा रहेको प्रगतिशिल महिला कृषक समुह र कालेगाउँमा रहेको चौतारी तरकारी खेती कृषक समुह सहभागी भएका छन् । जिल्लाको स्थानिय कालो भट्टमासको जातलाई परिक्षण गरि राष्ट्रिय विऊ विजन गुणस्तर केन्द्रमा जात दर्ता गराउन सकेमा जिल्लाको कृषि सम्पतिमा निकै ठुलो उपलव्धी हुने अधिकृत रामजालीको दावी छ ।

भट्टमासको जात दर्ता गराउन सकेमा जिल्ला भट्टमासको विऊ उत्पादन केन्द्र वन्न सक्ने रामजालीको तर्क छ । भट्टमासको जातिय छनौंट परिक्षणले पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाले परिकल्पना गरेको शुक्ष्म परियोजनामा सहयोग पुग्ने अधिकृत रामजालीको धारणा छ ।

जिल्लाका विभिन्न भागहरुमा कालो, खैरो, सेतो भट्टमासको खेती परापुर्वकाल देखी नै गर्दै आएको पाईन्छ । स्थानिय स्तरमा खाजा र तरकारीका रुपमा प्रयोग गरिने भट्टमासको व्यवसायिक खेती गरेर होटल व्यवसायिहरुको सेकुवा सेन्टर, कुखुराको दाना र स्वाईवीन केक मिलहरुमा विक्री वितरण गर्ने गरिएको छ । गरिवहरुको मासुका रुपमा चिनीने स्वाईवीन वनाईने भट्टमासवाट मानव स्वास्थ्यका लागि चाहिने ४० प्रतिशत प्रोटिन र २० प्रतिशत तेल पाईने वताईएको छ । खाना तथा भोजनमा भट्टमासको प्रयोगले वालवालिकाहरुको पोषणमा निकै सहयोग पुग्ने वताईएको छ ।