Indrenionline.com

पत्रकारिता एउटा नशाका रुपमा अघि बढिरहेको छ

त्यसताका दिनहरु निकै कठिन थिए । दिनानुदिन कसरी हातमुख जोर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो । कहिले ट्युसन पढाउन दौडधुप गर्न खोज्थें त कहिले पत्रिका बाँड्ने काम पाइन्छकी भन्दै नाम चलेका पत्रकारका पछि दौडन्थें । लेख्न सानैदेखि निकै रहर लाग्थ्यो । त्यसैले पनि रुकुमबाट दाङ झर्ने बित्तिकै पत्रपत्रिका खोज्दै हिड्नु स्वभाविक थियो ।

भ्रष्टाचार, अनियमितता, अन्याय, शोषण, दमन, थिचोमिचो, विकृती, बिसंगती र असमानताबिरुद्ध सँधै रौं ठाडा हुन्थे । समाचार लेखेर ल्यायो, तत्काल छाप्ने ठाउँ कतै भएन । स्थापित पत्रिकाहरुले हामीलाई बिश्वास गरिहाल्ने अबस्था थिएन । त्यसपछि हामी केही युवाहरुले नै गठन गरेको असल शासन क्लवबाटै पत्रिका निकाल्ने तयारी भयो । ‘दिगो असल शासन’ मासिक पत्रिका छाप्न थाल्यौं क्लव प्रकाशक र म सम्पादक भएर । भ्रष्टाचारका धेरै समाचार छाप्यौं । यही क्रममा बिमाका नाममा सर्वसाधारणलाई  ठगी गर्ने घोराहीका केही संस्था बन्द नै भए ।

यसले खोजी पत्रकारिताप्रतिको नसा झन बढायो । पछि यस पत्रिकालाई प्रशासनमा दर्ता गरेर ६/७ अंकसम्म प्रकाशन ग¥यौं । जसमा खोजमुलक रिपोर्टहरु मात्रै छापिन्थे । शहर गाउँ पसेर अनेक बिषयबस्तुमा चिरफार गरी निकै मिहेनतसाथ पत्रिका छाप्थ्यौं अनि आफै बाँड्न हिड्थ्यौं । यति सबै कामहरु गरेवापत आर्थिकरुपमा केही लाभ थिएन । आफै खर्च गरेर रिपोर्टिङ, फोटो अनि छापेर बितरण ।

यतिबेलासम्म पत्रकारिताको नसा धेरै लागिसकेको थियो तर आर्थिक अभावले पत्रिकालाई निरन्तरता दिने अबस्था भएन । यही नै बेला काठमाडौबाट प्रकाशित हुने दृष्टि साप्ताहिकमा दाङमा  संवाददाता खोजेको बिज्ञापन देखियो । अनि दुईवटा खोजमुलक रिपोर्टसहित आवेदन पठाए“ । म त्यसमा छनौट भएपछि मेरो काठमाडौमा पनि नाम छापिने भयो । त्यसमा पनि खोजमुलक समाचार नै छाप्नुपर्ने भएकाले त्यसकै पछि दौडिरहें । दृष्टिले समाचार छापेबापत पैंसा पनि दिनेरहेछ । केही महिनापछि काठमाडौं गएर ३ हजार ५ सय जति पैंसा बुझ्दा मन फुरुंग भयो । पत्रकारिता गरेवापत पहिलोपटक पैंसा पाइयो तर साप्ताहिक पत्रिका भएकाले जिविका चल्ने अबस्था थिएन ।

२०६१ मंसिर ७ गतेदेखि घोराहीको नयाँ युगबोध दैनकको रात्री डेस्कमा काम गर्ने जिम्मेवारी आयो । अब मैलो पहिलोपटक डेस्कमा बसेर समाचार सम्पादनका काम पनि गर्नुपर्ने भयो । मलाई डेस्कका कामभन्दा फिल्ड रिपोर्टिङमै रुची भएकाले राती मात्रै डेस्कमा बसियो । दिनभर समाचार खोज्न जिल्लाका कुनाकुना दौडन्थें । साँझपख त्यसलाई राम्रो फिचर बनाएर तयार गर्थें ।

दैनिक पत्रिकाको डेस्कमा भएकाले औपचारिक कार्यक्रमहरुमा पनि जानुपथ्र्यो तर मलाई त्यस्ता कार्यक्रममा अनाबश्यक ठूलो समय खर्च भएजस्तो लाग्थ्यो । त्यसैले खोजमुलक समाचारकै पछि दौडिरहें । कहिले हप्ता, महिना दिन पनि लगाएर कुनै ठूलै खोजमुलक समाचार छापिन्थे । त्यसले बजारमा एकखालको तनाव र हलचल त मच्चाउथ्यो नै मलाई पनि पत्रकारिता गरेकोमा सन्तुष्टी मिल्थ्यो ।

यस बीचमा धेरै खोजमुलक समाचार र लेखहरु छापिए । त्यसक्रममा एक भ्रष्टाचार र अनियमितताका पात्र दाङका तत्कालिन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपाल पनि भए । उनले जिल्लाका बिभिन्न संस्था र कार्यालयबाट सहयोग मागिरहने, नबिग्रेको गाडीलाई बिग्रेको भनेर मर्मतको बिल बनाउने, थर्काएरै डिजेल माग्ने, भ्रष्टाचारमा मुछिएकालाई लाखौंको बार्गेनिङ गर्ने र पैंसा पाएपछि छोड्ने गरिरहेका रहेछन् । यो कुरा खोतल्न धेरै समय लाग्यो । प्रमाणहरु पनि धेरै भेटिए तर उनका बिरुद्ध लेख्नु मेरासामु ठूलो चुनौती थियो ।

जिल्लाको भ्रष्टाचारबारे अनुसन्धान र कार्वाही गर्ने अख्तियार अनुसन्धान आयोगको जिम्मेवारी पाएका अधिकारी पनि उनै थिए । जिल्ला सुरक्षा समितिका संयोजक पनि उनै थिए । चाहे उनी जे पनि गर्न सक्थे । त्यस्तो सरकारी अधिकारीबिरुद्ध कलम चलाउन मैले ठूलै आँट गर्नुपर्ने थियो । खोजी पत्रकारितालाई आफ्नो रुचीको बिषय बनाएपछि मैले जति नै जोखिम मोलेर भएपनि उनका बिरुद्ध लेख्नैपर्ने साहस बटुलें र लेखें पनि । समाचार र लेख दुवै छापिएपछि उनी मबिरुद्ध निकै आक्रोशित भए, प्रतिकार गर्ने प्रमाण केही नभएकाले उनले पाठकपत्र र खण्डन पठाउने समेत आँट गरेनन् तर मलाई ठिक गर्ने दाउ हेरिरहेका थिए । यि सबै कुरा पुस महिनामा भएका थिए । अर्थात म युगबोधमा प्रवेश गरेको एक महिना नबित्दै यि सबै घटनाक्रम भए ।

यही क्रममा माघ १९ गते मंगलबार आयो । जुन दिन राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत देउवा सरकार बर्खास्त गरी आफै शासन चलाउने घोषणा गरे । देशभरका टेलिफोनहरु काटिए । १९ गते दिउसो नेपाली सेना आएर राजाबिरुद्ध हुने कुनै समाचार नछाप्न निर्देशन दियो । छाप्दा सेनालाई सेन्सर गर्न दिनुपर्ने जानकारी गराएर सेना फर्कियो । भित्री पेज अपरान्हसम्म छापिसक्नुपर्ने भएकाले हामीले दिउसै ब्यारेकमा लगेर २ र ३ पेज देखायौं । सेनाले एक, दुईवटा समाचार काटिदियो । त्यसलाई फालेर अन्य समाचार  र लेखसहित भित्री पेज छापियो ।

रातभर फोन र फ्याक्सविना पनि ठूलो दुःखका साथ पहिलो र अन्तिम पेज तयार भयो । विहान छाप्ने गरी पेष्टिङ गरेर तयार थियो तर विहानै सेना आएर पत्रिका नछाप्नु भनेर त्यो पेष्टिङ नै लिएर गयो । रातभर फोन र फ्याक्सविना ठूला दुःखले तयार पारेको पत्रिका सेनाले लगिदिंदा निकै दुःख लाग्यो ।

माघ २२ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म पत्रिका नछाप्नु भनेर पत्र नै पठायो । प्रमुख जिल्ला अधिकारी नेपालले हामीले छापेको समाचारको बदला यसबेला लिने प्रयास गरेछन् । युगबोध लामो समय बन्द भैसक्यो । करिव एक महिनाजति मुद्धा लड्यो युगबोध । राजाबिरुद्ध कुनै समाचार छापिएको होइन, उनका बिरुद्ध भ्रष्टाचारका समाचार छापिएकाले युगबोध बन्द गरिदिएको भन्ने प्रमाणहरु पेश गरेर मुद्धा लड्दा एक महिनापछि पुनरावेदन अदालत तुलसीपुरको आदेशमा मात्र युगबोध फेरी प्रकाशन गर्न पाइयो ।

पत्रकारिताको यात्रामा यस्ता धेरै चुनौतीहरुको सामना गर्नुपरेको छ । २०६५ सालदेखि कान्तिपुर दैनिकको संवाद्दाता भएर काम गर्न थालियो । यस क्रममा धेरै जोखिमपूर्ण ठाउमा पुगेर निकै महत्वपूर्ण बिषयको रिपोर्टिङ गरिएको छ । नेपाल भारत सिमा क्षेत्रमा भएको भारतीय ज्यादतीका बिषयमा १५ दिनभन्दा बढी हरेक नाकामा पुगेर रिपोर्टिङ गरियो । जुन बिषयमा राष्ट्रिय चर्चा भई संसद्मा समेत बहस भयो । पछि संसदीय अध्ययन समिति गठन भएर सिमामा पुग्यो र समाचारमा लेखिए अनुसारका समस्या रहेको सुझाव दियो ।

रुकुम रोल्पाका विकट गाउ“हरु छिचोल्दै गुरिल्ला ट्रेकिङ गरियो । यसका बिषयबस्तुहरुले कान्तिपुरमा ठूलो कभेरेज पाए । पत्रकारिता जीवनको सबैभन्दा चुनौतीपूर्ण र कठिन रिपोर्टिङ थियो–जाजरकोटको स्वाइनफ्लु । मलाई कान्तिपुरले स्थलगत रिपोर्टिङका लागि जाजरकोट पठाउन थाल्यो जतिबेला अधिकांश मानिसहरु जाजरकोट छोड्दै थियो । स्वाइनफ्लुको त्रास फैलिरहेको थियो, मानिसहरु मरिरहेका थिए । घरपरिवारको रुवाबासीका बीच पनि जाजरकोटका विकट गाउहरु पुगेर स्वाइनफ्लुको रिपोर्टिङ गरियो । पत्रकारिताका क्रममा कर्णाली अञ्चलका पाचै जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा पुगियो । यसरी पत्रकारिता एउटा नशाका रुपमा अघि बढिरहेको छ ।