भोलि र पर्सि राजधानी काठमान्डौंमा हुने दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनको तयारी पूरा भएको छ । सामुदायिक रेडियो प्रशारक संघ ( अकोराब ) को आयोजनामा हुने सम्मेलनका लागि भएका तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अकोराबका अध्यक्ष मोहन चापागाईले दुई दिन चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने जानकारी दिनुभयो । सम्मेलनका लागि बंगलादेशका सञ्चारमन्त्री लगायत अरु मुलुकका प्रतिनिधि पनि आइसकेका छन् ।
सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंकालगायतका देशबाट करिब एकसय रेडियोकर्मी र विज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनमा मलेसिया, बेलायत, नेपाल र विश्वका विभिन्न क्षेत्रबाट विशेषज्ञहरुको पनि सहभागिता रहनेछ । विपत् र अप्ठ्यारोमा सामुदायिक रेडियो, विकासमा सामुदायिक रेडियोको भूमिका लगायतका आधा दर्जनभन्दा बढी समुदाय र विकासका मुद्दामा सम्मेलनको क्रममा विषेश छलफलहरु हुनेछन् । आफूले आर्जन गरेको ज्ञान, सीप साटासाट गरि उत्कृष्ठ रेडियो कार्यक्रममार्फत समुदाय र विकासको साझेदार बन्न सम्मेलनले सहयोग पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भोलि विहान साढे ८ बजे ठमेलको होटल मस्र्याङ्दीमा सुरु हुने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।