काठमडौ २२ साउन । मधेसी मोर्चा र संघीय गठबन्धनसँग ६ महिनायता टुटेको संवाद सिलसिला जोडदै सरकारले शुक्रबार पहिलो वार्ता गरेको छ ।
वार्तामा दुई पक्षबीच सहमति भएलगत्तै बिहीबारको मन्त्रिपरिषद्ले मधेस–थरुहट आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई एक साताभित्र १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको उपचार खर्च बेहोर्ने, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने निर्णय गरेको छ ।
मृतकको संख्या यकिन गर्न बाँकी रहेको भन्दै मधेस आन्दोलनका सहिद घोषणा भने शुक्रबारकै मन्त्रिपरिषद्बाट हुन सकेन । मृतकको संख्या यकिन भएपछि सहिद घोषणा गरिने स्रोतले जनायो । सरकार–मधेसी मोर्चा र संघीय गठबन्धन वार्तामा सीमांकनलगायत राजनीतिक मुद्दा सम्बोधनमा गृहकार्य गर्न अनौपचारिक कार्यदल गठन गर्ने पनि सहमति भएको छ ।
।
सरकारले आन्दोलनकारीको मुद्दा, कैदी रिहाइका लागि गृह मन्त्रालयमार्फत एक साताभित्र तयारी गर्ने निर्णय गरेको पनि उनले बताए । मन्त्रिपरिषद्ले मधेस आन्दोलन क्रममा भएका हिंसात्मक घटना, आगजनी र तोडफोडलगायत विषयमा छानबिन आयोग गठन गर्न एक साताभित्र प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
सिंहदरबारमा शुक्रबार बिहान बसेको दुईपक्षीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नवनियुक्त मन्त्रीहरू सहभागी थिए ।
आन्दोलनकारीका तर्फबाट गठबन्धन संयोजक उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत संसदमा प्रतिनिधित्व गर्ने नौ दलका नेता उपस्थित थिए ।