Indrenionline.com

नेविसंघमा उमेरको हद ३२ वर्ष लागू हुने

काठमडौ २१ साउन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुने गरी विधानको टुङ्गो लगाएको हो ।

तथापी उक्त प्रावधान १२ औँ महाधिवेशनबाट मात्र लागू हुने छ । नेविसङ्घको ११औँ महाधिवेशन यही साउन २३ देखि २५ गतेसम्म राजधानीमा हुँदैछ । सङ्घमा एक व्यक्ति एक पदको अवधारणा अनिवार्य रुपमा लागू हुने भएको छ । कुनै एक पदमा बहाल रहेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

केन्द्रीय समिति १५१ सदस्यीय हुने भएकोछ, जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जनागरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् । त्यस्तै दुई निर्वा्चित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक/एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताउनुभयो । त्यस्तै एक निर्वा्चित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ ।