काठमडौ २१ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस नयाँ सरकारले उल्टाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आजको मन्त्रि परिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा प्रस्तावित राजदूतहरुको सुनवाई स्थगित गर्ने निर्र्र्णय गरेको हो ।
आजको वैठकले मधेस आन्दोलनमा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकबाट यो निर्णय गर्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । बैठकपछि उपप्रधानमन्त्री कृष्णबहादुर महराले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिने निर्णय भएको जानकारी दिनुभयो । मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृहमन्त्रालयलाई प्रक्रिया बढाउन पनि निर्देशन दिइएको छ ।
त्यस्तै सरकारले जन्मदर्ता गराउन आउने कर्णालीका सबै र देशभरिका दलित समुदायलाई रु एक हजार नगद दिने निर्णय गरेको छ । बैठकले सहसचिवद्वय राजेश्वरमान सिंह र डा लवदेव अवस्थीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।