इन्द्रेणी संवाददाता
काठमाडौं,२० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो । आफू चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वा्चित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस गर्ने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो।
उहाँले आफ्नो नेतृत्वको सरकारको प्राथमिकतालाई उल्लेख गर्दै भन्नुभयो, ‘आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनःनिर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख रहेको छ ।’ बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उहाँको कथन थियो ।
यस्तै मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षति भएकालाई राहत तथा पुनःस्थापना गर्ने, सहिद बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिन रात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताउनुभएको हो ।