काठमाडौ । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन् ।
कास्की जिल्ला अदालतले सहकारीको बचत रकम हिनामिना गरेको कसुरमा नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । उनीसहित ७ जनाबाट १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगोसमेत भराउनुपर्ने फैसला भएको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले गत १७ कात्तिकमा नेपालीसहित सातजनालाई कैद, जरिवाना र बिगो असुलको फैसला गरेको हो । अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ । हाल उनी बागलुङ कारागारमा पुर्पक्षका लागि दुई वर्षदेखि थुनामा छन् ।
