Indrenionline.com

गाउँको समृद्धि कृत्रिम जलाशयले फेरिँदै

दाङ । कुनै समय आकाशे पानीको भरमा खेती गर्दै आएका घोराही उपमहानगरपालिका–१७ ढिकपुर र ओखरा गाउँका किसान अहिले बाह्रै महिना व्यावसायिक खेतीमा रमाउन थालेका छन् । गाउँ नजिकै निर्माण गरिएको कृत्रिम जलाशयले सिँचाइको सुविधा उपलब्ध गराएपछि यहाँका किसानको खेती गर्ने शैली मात्र फेरिएको छैन, आम्दानीको स्रोतसमेत फराकिलो बनेको छ ।

जलाशयको पानीबाट दुई गाउँका करिब ७५ घरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । जलाशयबाट करिब ६० बिघा जमिनमा बाह्रै महिना सिँचाइ हुँदै आएको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि परम्परागत धान खेतीमा निर्भर रहेका किसान अहिले मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । किसानले काउली, बन्दागोभी, बोडी, करेला, भिन्डी, काँक्रा, लौका, आलु, गोलभेँडा र खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।

मौसमअनुसार अन्य विभिन्न प्रकारका तरकारी खेतीसमेत हुने गरेको छ । जलाशय समितिका कोषाध्यक्ष भीमबहादुर चौधरीले भन्नुभयो, “पहिले यहाँका किसान परम्परागत खेतीमा निर्भर थिए । सिँचाइको सुविधा नहुँदा खेतीपातीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था थियो । अहिले बाह्रै महिना सिँचाइ हुन थालेपछि किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ ।”

जलाशयले खेतीपातीमा मात्र होइन, माछापालनमार्फत पनि स्थानीयको आम्दानी बढाउन सहयोग गरेको छ । सिँचाइका लागि निर्माण गरिएको जलाशयमा माछापालन सुरु भएपछि स्थानीयले पानीको बहुउपयोग गर्न थालेका हुन् ।

गत वर्ष सात वर्षअघि जलाशयमा छाडिएका माछा निकालेर बिक्री गर्दा १८ लाख रुपियाँ कुल कारोबार भएको चौधरीले बताउनुभयो । माछा निकाल्ने, बिक्री गर्ने तथा अन्य खर्च कटाउँदा १६ लाख रुपियाँ बचत भएको उहाँले जानकारी दिनुभयो । प्रतिकिलो ३०० रुपियाँका दरले बिक्री गर्दा करिब छ हजार किलो माछा बिक्री भएको थियो ।

जलाशयमा हुर्किएका केही माछा १२ किलोसम्मका थिए । यस वर्ष पनि जलाशयमा विभिन्न प्रजातिका ४५ हजार माछाका भुरा राखिएको उहाँले बताउनुभयो । माछापालनलाई निरन्तरता दिँदै जलाशयबाट थप आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको उक्त कृत्रिम जलाशय घोराही उपमहानगरपालिकाले २०७५ सालमा निर्माण गरेको हो । खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको जलाशय अहिले स्थानीयका लागि कृषि उत्पादन वृद्धि र माछापालनबाट आम्दानी गर्ने माध्यमसमेत बनेको छ । सन्तोष दहितले गोरखापत्र अनलाइनमा लेखेको छन् । जलाशय निर्माणपछि किसानले वर्षभरि खेती गर्न पाएका छन् । परम्परागत धान खेतीमा निर्भर रहेका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन् । सिँचाइ र माछापालन दुवैबाट लाभ लिन थालेपछि स्थानीयको आर्थिक अवस्थामा समेत सकारात्मक परिवर्तन आउन थालेको चौधरीले बताउनुभयो ।

यसरी सिँचाइका लागि निर्माण गरिएको कृत्रिम जलाशय अहिले ढिकपुर र ओखरा गाउँका किसानको जीविकोपार्जन सुधार गर्ने आधार बनेको छ । जलाशयको पानीले खेतबारी हराभरा बनाएको छ भने माछापालनले आम्दानीको अर्को सम्भावना सिर्जना गरेको छ । जलस्रोतको सदुपयोगबाट कृषि उत्पादन र आम्दानी बढाउँदै गाउँको समृद्धिको आधार तयार हुँदै गएको उहाँको भनाइथियो ।