Indrenionline.com

बाँके राष्ट्रिय निकुञ्जमा चार वर्षमा बाघको संख्या दोब्बर

बाँके । सन् २०२२ मा २५ वटा बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा अहिले बाघको सङ्ख्या बढेर ५१ पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०२६ को नतिजाअनुसार अहिले बाघको संख्या करिव दोब्बर पुगेर ५१ पुगेको देखिएको छ । यसरी बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी वृद्धि भएसँगै मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास बढेको छ ।

बाघको सङ्ख्या बढ्नु वन्यजन्तु संरक्षणका दृष्टिले सकारात्मक भएपनि निकुञ्ज आसपासका गाउँबस्तीमा बाघलगायत वन्यजन्तुको आवतजावत र आक्रमणका घटनाले स्थानीयमा चिन्ता बढाएको छ । निकुञ्जका वन्यजन्तु मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने तथा घरपालुवा जनावर मार्ने गरेका कारण बाघको सङ्ख्या बढेसँगै त्रास बढेको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाघको सङ्ख्या दोब्बर हुनु वन्यजन्तु संरक्षणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको तर, बाघ निरन्तर गाउँबस्तीमा प्रवेश गर्ने गरेकाले निकुञ्ज आसपासका बासिन्दामा त्रास बढ्दै जानु दुर्भाग्य भएको बताए । बाँकेमा आर्थिक वर्ष २०८२/८३ मा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चारवटा बाघ थिए भने सन् २०१८ मा बढेर २१ पुगेको सङ्ख्या सन् २०२२ मा २५ पुगेको थियो । अहिले भने सङ्ख्या दोब्बर बढेर ५१ पुगेको छ । यसरी बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेपछि छिमेकी जिल्ला दाङ, सल्यानका जिल्लाका जंगलमा पनि पाटेबाघ देखिन थालेका छन् ।