हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौरी गाईसहित दुई सय पशु बेपत्ता भएका छन्। असोज १० र ११ गते परेको भारी हिमपातका कारण चरन क्षेत्रमा रहेका ती पशुवस्तुको अवस्था हालसम्म अज्ञात रहेको छ।
असोज महिनाको सुरुमै भारी हिमपात भएपछि उच्च पाटनमा पाल्नका लागि लगिएका चौरी गाईसहित दुई सय पशुको अवस्था अज्ञात बनेको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। उनका अनुसार बेपत्ता पशुमा एक सय चौरी गाई, ५० घोडा र ५० जुमा तथा झोपा छन्।
लिङ खोला क्षेत्रको उच्च पाटनमा चरनका लागि लगिएका पशुवस्तु बाक्लो हिमपातमा परेका थिए। उक्त क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजीमा जानसमेत नसकिएको वडा अध्यक्ष तामाङले बताए। उनका अनुसार प्रतिकूल मौसम र हिउँका कारण पशुवस्तुको अवस्थाबारे जानकारी लिन सकिएको छैन।
खोजीमा जान सक्ने अवस्था नरहेकाले बेपत्ता पशु जीवितै भेटिने आशा कम हुँदै गएको उनले बताए। पशुवस्तुको खोजीका लागि सहयोग गर्न उनले सम्बन्धित निकाय तथा सरोकारवालासँग आग्रह गरेका छन् आजको गोखापत्रमा खबर छ । हिमपातमा बेपत्ता चौरी जीवित अवस्थामा फेला नपरे लिमीमा चौरीको सङ्ख्या उल्लेख्य रूपमा घट्ने स्थानीयको भनाइ छ।
