सल्यान । केही समयदेखि सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण बढ्दो छ । दार्मा गाउँपालिका वडा नम्बर ३ का एक १२ वर्षीय बालक र वडा नम्बर १ का ५० वर्षीय पुरुषको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको छ । थप दुई जनाको मृत्युसँगै यस गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ पुगेको छ ।
यसअघि ६ जनाको ज्यान गइसकेको थियो । दामा गाउँपालिकामा अझै ६ सयभन्दा बढी स्क्रब टाइफस संक्रमण संक्रमित छन् । गाउँपालिकाका सबै वडाहरुमा यो रोग फैलिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादुर बस्नेतका अनुसार दैनिक ३० जनाभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइरहेको छ ।
संक्रमणसँगै यस क्षेत्रमा त्रास फैलिएको छ। ज्वरो आएपछि मानिसहरू उपचारका लागि दाङ र नेपालगन्जतर्फ जान थालेका छन्।
स्क्रब टाइफस ब्याक्टेरियाका कारण हुने घातक संक्रामक रोग हो । यो ब्याक्टेरिया सूक्ष्म किर्नाले मानिसमा सार्छ । संक्रमित मुसामा पाइने लार्भा अवस्थाका माइट (चिगर) ले टोकेपछि मानिसमा यो रोग सर्ने गर्दछ ।
स्क्रब टाइफसका लक्षणहरु के के हुन् ?
- उच्च ज्वरो: अचानक १०४ डिग्री फरेनहाइटभन्दा बढीसम्मको उच्च ज्वरो आउने वा कामज्वरो आउने।
- टाउको र शरीर दुखाइ: अत्यधिक टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने।
- कालो पाप्रा (स्कार): किराले टोकेको ठाउँमा सुरुमा घाउ हुने र पछि कालो रङ्गको पाप्रा बस्ने (यो यसको मुख्य संकेत हो)।
- आँखा र छाला: आँखा रातो हुने र शरीरमा रातो बिमिरा वा दागहरू देखिने।
- पाचनसम्बन्धी समस्या: वाकवाकी लाग्ने, बान्ता हुने र पेट दुख्ने।
- श्वासप्रश्वासमा समस्या: स्वास फेर्न गाह्रो हुने वा श्वासप्रश्वासमा गम्भीर समस्या आउने।
समयमै उपचार नभएमा यो रोग जटिल बन्न सक्छ र निम्न समस्याहरू देखा पर्न सक्छन्:
- रक्तस्राव हुने
- मिर्गौला फेल हुने वा कलेजोमा असर पर्ने
- मस्तिष्क सुन्निने वा शरीरका धेरै अङ्गले काम गर्न छाड्ने (मल्टी–अर्गन फेलियर)
