दाङ । दाङको घोराहीमा बजार अनुगमनका क्रममा व्यापारीले विक्रीका लागि राखिएका सिद्रा माछामा किरा भेटिएको छ । आँखाले देख्न सकिने गरी माछामा किरा भेटिएपछि ती व्यापारीलाई घोराही उपमहानगरपालिकासहितको बजार अनुगमन तथा व्यवस्थापन टोलीले जरिवाना गरेको छ ।
अनुगमनका क्रममा उपभोक्ताहरुको स्वास्थ्यमा असर पर्ने गरी मापदण्डविपरित र अस्वस्थकर हिसावले माछा विक्री वितरणका लागि राखिएकाले त्यस्ता माछालाई नष्ट गर्नुका साथै सम्बन्धित व्यापारीलाई जरिवाना गरिएको घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनारले बताए ।
अनुगमन टोलीले घोराही उपमहानगरपालिका वडा नं. १४ नेपाल टेलिकम कार्यालयको उत्तरतर्फ सन्चालित सिद्रा माछा पसल फिजा ट्रेडर्समा ११.६ केजी सुकेका माछा नष्ट गरेको छ भने व्यापारीलाई सात हजार जरिवाना गरेको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका १४ पुरानो गुजुरी बजारमा संचालित कैस ट्रेडर्समा ३ केजी किरा परेको सिद्रा माछा नष्ट गरिएको छ भने दुई हजार जरिवाना गरिएको छ । त्यस्तै घोराही १४ गणेश मन्दिर छेउमा संचालित समीर माछा पसलमा गुणस्तरहिन ३२२० बराबरको सिद्रा माछा नष्ट गरिएको छ ।
त्यसैगरी घोराही १५ रझेना पिपलबोटदेखि बिपी चोक जाने बाटोको चोक छेउमा सन्चालित एभर ग्रीन होटल एण्ड रेस्टुरेन्टको भान्साघर र फ्रीजको सरसफाइको अवस्था कम्जोर भएको र खाद्य स्वच्छता विपरित देखिएकाले पाँच हजार जरिवाना गरी भान्साघर सुधार्न र खाद्य स्वच्छताको मापदण्ड वमोजिम व्यवसाय सन्चालन गर्न निर्देशन दिइएको छ ।
त्यस्तै घोराही १४ कुन्नु चाट पसल अगाडि सन्चालित आकाश होटल खाद्य स्वच्छताको मापदण्ड बिपरित सन्चालन भएको र सरसफाइको अवस्था कमजोर भएकाले देखिएका कमिकमजोरीहरु ७ दिनभित्र सच्याउन निर्देशन दिदै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ ।
