दाङ । घोराही उपमहानगरपालिकाको नेतृत्वमा गठित संयुक्त बजार अनुगमन टोलीले घोराही बजार क्षेत्रका होटल, डेरी, किराना, खाजाघर तथा मासु पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा विभिन्न व्यवसायमा खाद्य स्वच्छता, सरसफाइ, नापतौल, भण्डारण तथा व्यवसाय सञ्चालनसम्बन्धी कैफियत भेटिएपछि सुधार गर्न निर्देशन दिइएको छ।
टोलीले घोराहीको बीपी चोक, रझेना चोक र माथिल्लो साई मन्दिर चोक आसपासका १० वटा पसल तथा व्यवसायको अनुगमन गरेको थियो।
त्यस्तै, घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित हरियाली रेष्टुरेन्टलाई फ्रिजमा खाद्य सामग्रीको भण्डारण व्यवस्थित गर्न, भान्सामा छुट्टै बेसिनको व्यवस्था गर्न तथा भान्साको भुइँमा मार्बल लगाई सरसफाइ व्यवस्थित गर्न निर्देशन दिइएको छ।
घोराही–१५ माथिल्लो साई मन्दिर जाने चोकनजिक सञ्चालित न्यु प्रिन्स रेस्टुरेन्टमा खाद्य सुरक्षा तथा स्वच्छताको अवस्था कमजोर हुनुका साथै फोहोर व्यवस्थापनसमेत प्रभावकारी नभएको पाइएको छ। बिना इजाजत लोकल तथा सिलप्याक मदिरा बिक्री–वितरण गरेको समेत भेटिएपछि रेस्टुरेन्टलाई ८ हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै, भान्सालाई पूर्ण रूपमा पार्टिसन गरी व्यवस्थित गर्न र सात दिनभित्र व्यवसाय दर्ता तथा इजाजतको प्रक्रिया पूरा गरी प्रमाण नगरपालिकामा पेश गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, सोही क्षेत्रमा सञ्चालित न्यू २४ क्यारेट रेस्टुरेन्टको बाह्य तथा आन्तरिक भान्सामा फोहोर व्यवस्थापन कमजोर रहेको र खाद्य स्वच्छताका मापदण्ड पालना नभएको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। दुवै भान्सालाई खाद्य स्वच्छताका मापदण्डअनुसार पूर्ण रूपमा सुधार गरी १० दिनभित्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा देखिएका अन्य कैफियतसमेत तोकिएको समयसीमाभित्र सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको छ। तोकिएको अवधिभित्र निर्देशन पालना नगरेमा प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिने चेतावनीसमेत व्यवसायीलाई दिइएको छ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, पशु सेवा शाखा, वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तथा घोराही नगर प्रहरीलगायतका कार्यालय तथा निकायका प्रतिनिधिको सहभागिता थियो।
