Indrenionline.com

भोटेकोशी बाढीमा १५७ जनाको मृत्यु

काठमाडौं । बुधबार विहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या लेखाजोखा नभएपनि बुधबार राति ११ बजेसम्मको तथ्यांक अनुसार १५७ जनाको मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ।

बाढीले बगाएका शव रसुवादेखि तल्लो तटीय क्षेत्र र छिमेकी जिल्लाहरूमा समेत फेला परिरहेका छन्। प्रहरीका अनुसार हालसम्म चितवनमा सबभन्दा बढी ६४ जनाको शव फेला परेको छ भने धादिङमा २७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेका छन् । बाढीपछि नेपाल प्रहरीका २८ जना कर्मचारी अझै सम्पर्कविहीन छन्। घटनामा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाका ४४ जना र सशस्त्र प्रहरी बलका १३ जना पनि सम्पर्कविहीन छन्।

त्यस्तै बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्। हालसम्म ३९१ जना विदेशी र ९३ जना स्वदेशी गरी ४८४ जना पर्यटक सम्पर्कविहीन छन्।

बुधबार विहान एक्कासी चिनको तिब्बततिरबाट आएको बाढीले १९ वटा मोटरेबल पुल बगाएको छ भने ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।