Indrenionline.com

रोल्पामा पहिरोले परिएर एक जनाको मृत्यु, पाँच दिनमा १७ जनाको मृत्यु

रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एक जना वृद्धाको मृत्यु भएको छ। निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएको हो । पहिरोमा पुरिएकी गुरुङको टाउकोको भाग मात्र देखिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

योसँगै बुधबार यता पहिरोमा परी रोल्पामा मात्रै मृत्यु हुनेको संख्या १७ पुगेको छ । गएको बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १२ जनाको मृत्यु भएको थियो । उक्त घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ ।