काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुरको झम्सीखेलस्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ । छापामा मारेर पत्रिकाका कम्प्युटर (सीपीयू, मनिटर) तथा अन्य डिभाइसहरू नियन्त्रणमा लिएको छ ।
पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा बुधवार उनकै निवासबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसवी दानबहादुर थापाले अनुसन्धानका लागि कम्प्युटर र डिभाइसहरू नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । पत्रकार श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । आज अदालतमा उपस्थित गराइने बताइएको छ ।
यता नेपाल पत्रकार महासंघले श्रेष्ठ पक्राउको विरोध गरेको छ । प्रहरीले समाचार प्रकाशन गरेकै भरमा पत्रकारलाई पक्राउ गर्नु प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षप भन्दै महासंघले श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ । महासंघले आज भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी बाटो खोज्ने व्यवस्था छ । तर प्रहरीले त्यो व्यवस्थाको धज्जी उडाउदै पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो ।
